म्याग्दी १७ फागुन । म्याग्दीको बाबियाचौर स्थित चिमखोला बृहत खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । योजना अन्तर्गत सबै घरमा मिटर सहितको निजी धारा, वडा नंं. २ देखि ७ नम्बर सम्म ढल निकासका लागि पूर्वाधार बनाइनेछ ।
यस्तै एक लाख ५० हजार र चार हजार लिटर क्षमताका एक–एक वटा ट्याङ्की र पाँच हजार लिटरका तीनवटा ट्याङ्की तथा दुईवटा सार्वजनिक शौचालय समेत बन्ने भएको छ । ११ वटा स्किममा निर्माण हुने आयोजनाका लागि १३ वटा मुहानबाट पानी ल्याइने खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७२÷७३ मा सर्वेक्षण भएको चिमखोला खानेपानी तथा सरसफाइ आयोजनाका लागि चालु आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन भएको सबडिभिजन प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार पूर्वाधार निर्माणको कामका लागि ओमबहादुर पुनको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी सम्झौता समेत भइसकेको छ ।
६ करोड ९७ लाख ४० हजार सात सय १२ रुपैयाँको लागतमा सुरु भएको आयोजनामा उपभोक्ताको १ करोड ३९ लाख ४८ हजार एक सय ४२ रुपैयाँ अर्थात २० प्रतिशत श्रम र नगद सहभागिता रहनेछ ।
आयोजना आर्थिक बर्ष २०७६/७७ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । सार्वजनिक धाराबाट खानेपानीको उपभोग गर्दै आएका चिमखोलाका बासिन्दा गाउँमा बृहत खानेपानी आयोजना निर्माण शु्रु भएपछि उत्साहित भएका छन् ।