यसरी हुदैछ, रातैभर मेलम्चीको काम (भिडियो)

काठमाडौ १८ फागुन । राती सुत्ने बेला केही नभएको सडकमा विहान उठेर हेर्दा पाइप विछ्याइसकेको देख्दा ललितपुर सातदोबाटोका संजीव डंगोल छक्क पर्नुभयो । संजीव जस्ता धेरैलाई अचम्मित तुल्याउने गरी अहिले काठमाडौको विभिन्न स्थानमा रातारात काम भैरहेको छ ।

काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार काठमाडौको कपन, चावहिल, लाजिम्पाट, थापाथाली, मीनभवन लगायतका क्षेत्रमा रातभर काम भैरहेको छ । दिउसो काम गर्न मिल्ने ठाउँमा दिउँसो र गाडीको चाप हुने ठाउँ रातभरि नै काम भैरहेको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताउनुभयो ।

उहाँका अनुसार मेलम्ची विकास समितिले सुरुङ निर्माण र सुन्दरीजलमा पानी प्रशोधन केन्द्र बनाईरहेको छ । अहिले पानी प्रशोधन केन्द्र देखि रिजभ्र्वायर सम्मको पाइप विछ्याउने, रिभ्र्वायर अर्थात पानी पोखरी बनाउने र पानी पोखरीदेखि घरघरसम्म पुग्ने पाइप विछयाउने र धारा जडान गर्ने काम एकैसाथ भईरहेको छ ।

यसका लागि काठमाडौ उपत्यकामा पाइप विछ्याउन मात्र १ हजार २ सय कामदार खटिरहेका छन् । उपत्यकाको चालीस ठाउँमा काम भईरहेको छ भने दैनिक ५० जना इन्जिनियर फिल्डमा खटिएका छन् । फिल्डमा आयोजना कार्यान्वयन निर्देशनालयका इन्जिनियर, परामर्शदाता र ठेकेदार कम्पनीका प्राविधिक, एकैसाथ खटिन्छन् ।

सरकारले आगामी दशै अघि नै मेलम्चीको पानी काठमाडौ उपत्यकामा ल्याइसक्ने प्रतिबद्धता जनाएको छ । यही प्रतिबद्धता पूरा गर्न सबैपक्ष तातिएका निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताउनुभयो ।

यस्तो छ, मेलम्चीको इतिहास
मेलम्चीको पानी काठमाडौ उपत्यकामा ल्याएर खानेपानीको अभाव हटाउने उद्देश्यले काम शुरु भएको झण्डै २० बर्ष पुग्न लागेको छ । सन् १९९८ मा मेलम्ची खानेपानी विकास समिति गठन भएपछि सन् १९९९ मा मेलम्ची खानेपानी आयोजनाको विस्तृत प्रतिवेदन तयार पारिएको थियो ।

सन् २००१ मा एसियाली विकास बैंकले १२० मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत गरेपछि मेलम्ची खानेपानी आयोजना शुरु भएको हो । कुनै समय मेलम्चीको पानी काठमाडौमा ल्याएर पिउने कुरा सपना जस्तै भएपनि अब मेलम्ची आउने दिन नजिकिदैछ ।

सरकारले यसअघि २०७३ साल बैशाखमा मेलम्चीको पानी काठमाडौ ल्याइसक्ने जनाएपनि भूकम्प र नाकाबन्दीका कारण निर्धारित समयमा ल्याउन नसकेको भन्दै अब २०७३ असोजमा ल्याइसक्ने प्रतिबद्धता जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार