नियम मिच्दै धादिङमा चर्पी बनाउन पनि अनुदान

धादिङ १९ फागुन । चर्पी बनाउन अनुदान दिन नपाइने नियमलाई कुल्चेर धादिङमा कार्यरत गैरसरकारी संस्थाले चर्पी बनाउन धमाधम अनुदान दिइरहेका छन् । भूकम्पले भत्किएको घर पुनःनिर्माणका लागि गाउँ छिरेका गैरसरकारी संस्थाले चर्पी बनाउन नगद तथा सरसामान बाँडिरहेका छन् । भूकम्प प्रभावितलाई कुनै गैरसरकारी संस्थाले नगद पाँच हजार दिएर चर्पी  बनाउन लगाएका छन् भने कुनैले चर्पी बनाउन चाहिने सरसामान दिने गरेका छन् ।

चर्पी बनाउन अनुदान पाएपछि भूकम्प पीडितले घर भन्दा पहिले चर्पी बनाएका छन् । एनजिओको जबरजस्तीमा घरको जग हाल्ने टुङ्गो नभएपनि चर्पी बनिसकेको धादिङ त्रिपुरेश्वरका नानीमाया सापकोटाले बताउनुभयो । ‘चर्पी त बनायो, घर अन्तै बनाउनुपर्नेहरुलाई त त्यो चर्पी कामै लाग्दैन, फेरि पछि उखेलेर लैजानुपर्ने अवस्था हुन्छ’ सापकोटाले गुनासो गर्नुभयो ।

घर बनाउने टुङ्गो भएपछि मात्र     चर्पी बनाउछु भन्दा पनि नमानेको उहाँको ग्ुनासो छ । घर भन्दा पहिले चर्पी बनाउनु राम्रो भएपनि घर अन्तै बनाउनुपरेमा चर्पीमा लगाएको श्रम र खर्च खेर जाने पीडितहरु बताउँछन् । ‘हामीले त पहिले घर बनाउन सहयोग गर्नुहोस् भन्यौं, तर कार्यक्रमको नम्स बाहेक अन्य केही गर्न मिल्दैन भन्दै चर्पी बनाउन बाध्य गराए’ त्रिपुरेश्वरका नारायण अधिकारीले भन्नुभयो ।

विभिन्न दातृ निकायको सहयोगमा धादिङमा एक्सन नेपाल, सहयात्री समाज, कोसोक नेपाल, फोकस नेपाल लगायतका गैरसरकारी संस्थाले चर्पी बनाउने काम गरिरहेका छन् ।  चर्पी बाहेक ती संघसंस्थाले बाख्रा पालन, गोठ सुधार, विउ विजन वितरण लगायतका काम गरिरहेका छन् ।

२०७२ वैशाखको भूकम्पले धादिङको झण्डै ८५ हजार घर सँगै चर्पी पनि  भत्किएको तथ्याङ्क छ । घर बनाउने ठाउँको टुङ्गो नलागे पनि धादिङमा टहरो सँगै पक्की चर्पी बन्न थालेका छन् । चर्पी बनाउन अनुदान दिएका गैरसरकारी संस्था भने भूकम्प पछिको अवस्था विशेष परिस्थिति भएकाले अनुदान दिएको बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार