धादिङ २० फागुन । धादिङको झ्याम्रुङ गाविस वडा नं. ७ को कुमाई गाउँमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट विरामी भएका १८ जना जिल्ला अस्पताल धादिङबेसीमा भर्ना भएका छन् भने अझै ४० जना गाउँमै छट्पटाइरहेका आफन्तको उपचारमा संलग्न नवराज मजाकोटी बताउनुभयो ।
पानीको अभावमा एक हप्ताअघि एक दर्जन प्लास्टिक ड्रम राखेर खानेपानी संकलन गरी वितरण गरिएको दलित बस्तीमा बुधबारबाट झाडापखाला शुरु भएको हो ।

गत बुधबार नवराजका जेठान सुरेश नेपालीका छोरा प्रकाशको छेवार गरेपछि सबैलाई भोज खुवाइएको र त्यही भोजमा खाएको खानाका कारण विरामी पर्न थालेको गाउँलेले बताएका छन् । तर कुमाई गाउँका युवा दमन विकले भने भोजका कारण नभई दुषित पानीका कारण झाडापखाला लागेकोे बताउनुभयो ।
एक गैरसरकारी संस्थाले झाक्रेखोला मुहानबाट पानी ल्याएर गत हप्तामात्रै १ हजार लिटर क्षमताका १२ वटा ड्रममा पानी संकलन गरी बस्तीमा वितरण गरिएको थियो । त्यही ड्रमको पानी पिउँदा गाउँले नै थला परेको उहाँले बताउनुभयो । अस्पताल भर्ना भएका सबैलाई स्लाइनचढाएर उपचार गरिरहेको र तत्काल उपचार पाएकाले सबैको अवस्था सामान्य हुँदै गएको जिल्ला अस्पताल धादिङकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रसिला अमात्यले बताउनुभयो ।
डाक्टर रसिलाका अनुसार प्रकोप क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाईसकेको र विषाक्त खानाका कारण झाडपखालाको प्रकोप फैलिएको बताउनुभयो । झ्याम्रुङको दलित वस्ती लगायत अन्यत्र पनि खानेपानीको चरम अभाव छ । खानेपानी दुषित हुनुको कारण पत्ता लगाएर निराकरणको उपाय अपनाइने धादिङका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो ।


992 पटक हेरिएको 

