दुई महिनामै सरसफाइमा अभूतपूर्व प्रगति

काठमाडौं २४ फागुन । २०७३ पुस र माघ महिनामा मात्र ८१ गाविस र ३ नगरपालिका खुला दिसामुक्त घोषणा भएका छन् । २०७३ मंसिर मसान्त सम्ममा खुला दिसामुक्त घोषणा हुन बाँकी ३७ जिल्लाका १७ सय २ गाविस मध्ये ८८४ गाविस खुल्ला दिसामुक्त घोषणा भएका थिए भने फागुन ४ गते सम्ममा ८१ गाविस थपिएर खुला दिसामुक्त गाविसको संख्या ९ सय ६५ पुगेको छ ।

यो सँगै देशभर खुला दिसामुक्त गाविसको संख्या २ हजार ४ सय २० पुगेको छ । दुई महिनाकै बीचमा ३ वटा नगरपालिका पनि खुला दिसामुक्त भएका हुन् । यो सँगै खुला दिसामुक्त हुन बाँकी जिल्लाका १२७ नगरपालिका मध्ये ४१ नगरपालिका खुला दिसामुक्त भएका छन् । मंसिर मसान्तसम्ममा देशभर १ सय २८ नगरपालिका खुला दिसामुक्त भएकोमा अब खुला दिसामुक्त नगरपालिकाको संख्या १ सय ३१ पुगेको छ ।

खुला दिसामुक्त घोषणा हुन बाँकी ३७  जिल्ला मध्ये ६ जिल्लाहरु : भोजपुर, मनाङ, डोल्पा, मुगु, डोटी र दार्चुलाले यही अवधिमा सरसफाइको प्रगति शतप्रतिशत पु¥याएका छन् । यद्यपि यी सबै जिल्लाहरुलाई खुला दिसामुक्त घोषणा गर्न भने बाँकी छ ।

खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने समय नजिकिदै गर्दा सरसफाइमा क्रियाशील सबै संयन्त्र तातिएकाले यो प्रगति सम्भव भएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं खानेपानी तथा ढल निकाश विभाग, वातावरणीय सरसफाइ शाखाका प्रमुख सिनियर डिभिज्नल इन्जिनियर प्रेम कृष्ण श्रेष्ठले बताउनुभयो । ‘सरकारले सरसफाइमा राखेको लक्ष्य तोकिएकै समयमा पूरा गर्न सबै पक्ष जिम्मेवार भएर लागेका छन्, सबैले आ– आफ्नो क्षेत्रबाट गर्नुपर्ने काम गरिरहेका छन् त्यसैले यो परिणाम सम्भव भएको हो’ समितिका सदस्य सचिव श्रेष्ठले भन्नुभयो । सरकारले सन् २०१७ भित्र सबै नागरिकको घरमा आधारभूत तहको खानेपानी र सरसफाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ ।

११ जिल्लाको सरसफाइ प्रगति ९० प्रतिशत भन्दा माथि
खुला दिसामुक्त हुन बाँकी ३७ जिल्ला मध्ये ११ जिल्लाको सरसफाइ प्रगति ९० प्रतिशत भन्दा माथि पुगेको छ । रुपन्देही, पाल्पा, हुम्ला, कन्चनपुर र संखुवासभाको सबैभन्दा बढी ९९ प्रतिशत नाघेको छ । ती जिल्लामा बढीमा ४ वटा गाविस मात्र खुल्ला दिसामुक्त हुन बाँकी छन् । यस्तै बाँके र कैलालीको समान ९६ प्रतिशत पुगेको छ ।

बाँकेको कुल ३३ गाविस मध्ये २७ गाविस खुला दिसामुक्त भइसकेका छन् भने २ नगरपालिका मध्ये एउटा खुला दिसामुक्त हुन बाँकी छ । सिन्धुली र देशकै राजधानी काठमाडौको सरसफाइ प्रगति ९५ प्रतिशत छ ।

सिन्धुलीका ५० गाविस र २ नगरपालिका मध्ये ४६ गाविस खुल्ला दिसामुक्त भएका छन् भने काठमाडौका ११ नगरपालिका मध्ये ४ नगरपालिका खुला दिसामुक्त घोषणा गर्न बाँकी छन् । ९२ प्रतिशत सरसफाइ सुविधा पुगेको ललितपुरका १९ गाविस र ५ नगरपालिका मध्ये १२ गाविस र १ नगरपालिका खुला दिसामुक्त घोषणा भएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार