भेरीको पानी सुर्खेतमा लैजाने तयारी

सुर्खेत २५ फागुन । सुर्खेतमा भेरी नदीको पानी ल्याउने प्रक्रिया सुरु भएको छ । झुप्राखोला र भेरीको दोभानबाट मल्टीपम्प सिष्टमबाट सुब्बाकुनामा पानी ल्याएर सुर्खेत उपत्यकामा वितरण गर्न लागेको हो ।
खानेपानीको दीर्घकालीन समाधानका लागि १४ किलोमिटर टाढाको भेरी नदीबाट पानी तानेर सुब्बाकुनामा बनाइने इन्टेकमा जम्मा गरिनेछ ।

दुई वर्षभित्र सुर्खेत उपत्यकाबासीको घरघरमा भेरीको पानी पु¥याउने लक्ष्य रहेको खानेपानी तथा सरसफाइ मन्त्रालय जनाएको छ । भेरी नदीबाट दैनिक दुई करोड लिटर पानी उपत्यकामा भित्रिने प्रारम्भिक सर्वेले देखाएको छ । सुर्खेत उपत्यकामा दैनिक एक करोड लिटर पानीको माग छ ।

सुर्खेतमा खानेपानीको आपूर्ति गर्दै आएको झुप्रा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अनुसार अहिले झुप्रा तथा इत्राम खोला लगायत विभिन्न स्रोतबाट दैनिक ८६ लाख लिटर पानी आपूर्ति भइरहेको छ । समितिका अध्यक्ष कुलमणि देवकोटाले १४ हजार घरपरिवारलाई दैनिक ८६ लाख लिटर पानी मात्रै वितरण सकेको बताउनुभयो ।

भेरीको पानी ल्याउन्जेलसम्मका लागि झुप्रा वृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खरीबोरी खोलाको पानी ल्याएर वितरण गर्ने भएको छ । खरीबोरी खोलाबाट असार भित्रमा प्रतिसेकेण्ड ३५ लिटर पानी उपत्यकामा भित्रिने अध्यक्ष देवकोटाले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार