साप्सुखोलाको पानी दश ठाउँमा लिफ्ट गरेर दिक्तेलमा ल्याइदै

खोटाङ २६ फागुन । दिक्तेल नगरपालिकामा खानेपानी समस्या समाधान गर्न साप्सुखोलाबाट पानी पम्पिङ गरेर ल्याइने भएको छ । नगरपालिकामा बढ्दै गएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि दिक्तेल बजारबाट करिब १ हजार २ सय मिटर तलतिर रहेको खोलाको पानी बिजुली मार्फत पम्पिङ गरेर तान्ने तयारी भएको हो ।

खानेपानी तथा सरसफाइ मन्त्रालय मार्फत सञ्चालन हुने खानेपानी आयोजनाका लागि चालु आर्थिक बर्षमा २० लाख बजेट विनियोजन गरिएको छ । करिब दश ठाउँमा लिफ्ट गर्दै दिक्तेलमा ल्याइने पानी मझुवागढीमा जम्मा गरेर वितरण गर्ने योजना रहेको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका प्रमुख विजय ठाकुरले जानकारी दिनुभयो ।

‘बढ्दो जनसंख्या शहरीकरणले पानीको माग दिनप्रतिदिन बढ्दो छ अहिले १५ देखि २० लिटर प्रति सेकेन्ड पानीको आवश्यकता छ’ कार्यालय प्रमुख ठाकुरले भन्नुभयो ‘अहिल अघि सारिएको आयोजनाबाट यो समस्या दीर्घकालीन रुपमा समाधान गर्ने अपेक्षा गरिएको छ ।’

खानेपानी अभावमा बजारवासी, सशस्त्र प्रहरी बेस क्याम्प लगायत सार्नुपर्ने अवस्था आउन लागेकाले खोलाको पानी पम्पिङ गरेर तान्ने तयारी गरिएको कार्यालयले जनाएको छ । करिब चार हजार घरपरिवार रहेको नगरपालिकामा हिउँदमा खानेपानीको हाहाकार हुने गरेको छ ।

नगरपालिकामा अहिले दुई वटा योजनाबाट करिब ६ लिटर प्रतिसेकेन्ड पानी वितरण हुदै आएको छ । बिहान÷बेलुका करिब दुई घन्टा वितरण गर्ने व्यवस्था मिलाइए पनि कतिपयको धारामा पानी नै पुग्दैन ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार