वाग्लुङ २६ फागुन । उमेरले डाँडा काट्न लागि सक्नु भएका जलजला ४ बाग्लुङका दलबहादुर श्रीसको घरमा तीन पुस्ते अर्थात बूढाबूढी, युवायुवती र भर्खरका बालबालिका छन् । उनीहरु सबैले प्रयोग गर्ने एउटै मात्र चर्पी छ । सबै उमेर समुहलाई ध्यानमा राखेर बनाएको चर्पी भएकाले दलबहादुर जस्ता बूढो व्यक्तिका लागि पनि चर्पी आउन जान सजिलो छ । ‘चर्पीमा जाने बाटो पनि सजिलो छ, चर्पीको ढोका चढ्ने खुड्किला र भित्र आग्लो लगाउने ठाउँ पनि भेट्ने ठाउँमा भएकाले त्यत्ति गाह्रो पर्दैन’ दलबहादुरले भन्नुभयो ।
आफ्नो गाउँ विकास समिति खुल्ला दिसामुक्त गाविस घोषणा भएकाले बाहिर दिसा गर्नुहुन्न भन्ने हेक्का भएका दलबहादुर खुल्ला दिसामुक्त कायम राख्न सबै उमेर समुहका लागि सुहाउँदो चर्पी हुनुपर्ने बताउनुहुन्छ । ‘चर्पी बनाएर मात्र हुदैन, केटाकेटी बूढाबूढीले जानै सकेनन् भने बाहिरै दिसा नगरेर कहाँ गर्ने ? खुल्ला दिसामु्क्त बनाउन सबैलाई हुने खालको चर्पी बनाउनुपर्छ जस्तो लाग्छ’ उहाँले भन्नुभयो ।
बृद्धबृद्धाहरु शारीरिक रुपमा कमजोर भएका कारण घरदेखि टाढा जान सक्दैनन् । त्यसैले घरको नजिकै चर्पी हुन आवश्यक छ । चर्पी समय समयमा बनाईरहन नसकिने हुनाले एकैपटक सबैका लागि उपयुक्त हुने खालेको बनाएको जलजलाका युवा लालबहादुर श्रीसले बताउनुभयो । बताउनुहून्छ ।
चर्पीको ढोकामा प्रवेश गर्नु अघिको खुड्किला अग्लो भएमा बूढाबूढी चढ्न सक्दैनन् न त केटाकेटी नै चढ्न सक्छन्, लालबहादुर श्रीसले यस्तो चर्पी बनाउनुभएको छ, जो सबै उमेर समूहका लागि काम लाग्छ । ‘चर्पी बनाउँदै भत्काउदै गर्दा पनि धेरै पैसा चाहिन्छ यो सम्भव पनि छैन, त्यसैले एकैपटक सोचविचार गरेर बनाउनुपर्दो रहेछ, मैले चाहिं सबै उमेरका मानिसलाई मिल्ने गरी बनाएको छु’ लालबहादुरले भन्नुभयो ।
शहर गएपछि मात्र चर्पी देखेका जलजलाकै दलबहादुर श्रीसले आफ्नो लागि चाहिने चर्पी आफैले बनाउनुभएको हो । आफैले बनाएको चर्पी भएकाले उहाँले बूढाबूढीले पनि सजिलै प्रयोग गर्न सक्ने चर्पी बनाउनुभएको छ ।
उहाँले बनाउनुभएको चर्पी मानिस बस्ने घरभन्दा कम छैन, चर्पी उज्यालोको लागि स–साना झ्याल राख्नुभएको छ भने रातीको समयलाई ध्यानमा राखेर विजुली पनि जडान गर्नुभएको छ । सबै उमेरका लागि काम दिने चर्पी बनाएमा बूढाबूढी र केटाकेटीलाई पनि डो¥याउनु नपर्ने जलजलाका लालबहादुर श्रीस बताउनुहुन्छ ।
‘चर्पी जाने बाटो राम्रो छैन भने केटाकेटी बूढाबूढीलाई त डो¥याएर लानुपर्छ, चर्पीमा लगेर पनि पर्खेर बस्नुपर्छ तर जाने बाटो, चर्पीमा चढ्न सक्ने खुड्किला र ढोका थुन्न सजिलो बनाईदियो भने सबैले प्रयोग गर्न सक्छन् नि ?’ उहाँले भन्नुभयो । जंगल झाडी र खोलाखोल्सीमा दिसापिसाब गर्ने बानी लाग्दै आएका बृद्धबृद्धाको चर्पीमा पहुँच बढाउन बृद्धबृद्धामैत्री चर्पी निर्माण गर्न आवश्यक छ ।


993 पटक हेरिएको 

