काठमाडौमा चर्पी निर्माणको गति : ५ बर्षमा १ प्रतिशत

काठमाडौं २९ फागुन । देशको राजधानी काठमाडौलाई सन् २०१२ को अन्त्य सम्म खुल्ला दिसामुक्त गर्ने लक्ष्य अहिले सम्म पनि पूरा भएको छैन । काठमाडौ सँगै खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको भक्तपुर, चितवन र कास्कीले लक्ष्य पूरा गरे पनि काठमाडौमा अझै ५ प्रतिशत नागरिकको घरमा चर्पी बन्नै बाँकी छ ।

काठमाडौमा सन् २०१० मै ९३.७७ नागरिकको घरमा चर्पी बनेको थियो । काठमाडौमा सन् २०११ को अन्त्यसम्म ९४.७ प्रतिशत नागरिकको घरमा चर्पी बनिसक्ने र सन् २०१२ को अन्त्यसम्म सबैको घरमा चर्पी बनाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखेको थियो ।

तर पाँच बर्षको अवधिमा काठमाडौको थप १ प्रतिशत नागरिकको घरमा मात्र चर्पी बनेको देखिन्छ । तथ्याङ्क अनुसार काठमाडौका २ लाख ७३ हजार ७ सय ३३ घर मध्ये २ लाख ५४ हजार २ सय ९२ घरमा चर्पी बनिसकेका छन् भने अझै १९ हजार ४ सय ४१ घरमा चर्पी बन्न बाँकी छ ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समितिको सचिवालयका अनुसार काठमाडौको १ महानगरपालिका सहित ११ नगरपालिका मध्ये ४ वटा नगरपालिका मात्र खुल्ला दिसामुुक्त भएका छन् । काठमाडौ महानगरपालिका र अरु ६ वटा नगरपालिका गरी अझै ७ नगरपालिका खुल्ला दिसामुक्त हुन बाँकी छ ।

काठमाडौको अव्यवस्थित बसोबास, जग्गाको अभाव, जनसंख्याको उच्च बृद्धि तथा बसाइ सराईका कारण सोचे अनुसार चर्पी बनाउन नसकिएको सरोकारवाला बताउँछन् ।

सरकारले सन् २०११ मा सरसफाइ गुरुयोजना जारी गर्दा आर्थिक बर्ष २०६६÷०६७ को जनसंख्या बृद्धिलाई आधार मानी प्रति बर्ष २.२४ प्रतिशत बृद्धिदर प्रक्षेपण गरी हरेक बर्ष हुन आउने जिल्लागत जनसंख्या निकालेको थियो ।

प्रति परिवारको आकार ५.६ जनाको दरले हुन आउने घरधुरी र बर्षेनी बनाउनुपर्ने चर्पीको संख्या पनि निर्धारण गरेको थियो । कतिपय जिल्लाले गुरुयोजना बमोजिम नै सरसफाइ पूरा गरेपनि धेरै जसो जिल्लाले सफलता हासिल गर्न सकेका छैनन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार