बृद्धबृद्धालाई चर्पी प्रयोग गर्ने तरिका सिकाउँदैछन्, कैलालीका युवायुवती

कैलाली २ चैत्र । कैलालीको हिम्मतपुर शिवीरको सिङ्गो गाउँमै केही समय अघि सम्म एउटा पनि चर्पी थिएन । मुक्तकमैयाहरुको बसोबास रहेको हिम्मतपुरका सबैजसो जंगल तथा बाटोको किनारामा बसेर दिसापिसाब गर्थे । यसले गाउँलाई नै दुर्गन्धित बनाएको थियो ।

तर अहिले हिम्मतपुर शिवीरको स्वरुप बदलिएको छ । अहिले सबैको घरमा चर्पी बनेका छन् ।   घरको नजिकै बनेका चर्पीले गाउँको शोभा पनि बढाएको छ भने दिसापिसाब गर्नका लागि पनि अन्त गईरहनु पर्दैन । हिम्मतपुर शिवीरका शान्तराम चौधरी भन्नुहुन्छ ‘पहिले पहिले साँझ पख हावा चल्दा गाउँ नै गन्हाउथ्यो, अहिले त त्यस्तो छैन, घरघरै चर्पी छ ।’

हिम्मतपुर शिवीरका सबै घरमा चर्पी बनेपनि खुल्ला दिसा नहटेपछि गाउँका युवाले यो कारणको खोजी गर्न थाले । सबै युवायुवतीले पछि मात्र चाल पाए कि बृद्धबृद्धाले चर्पी प्रयोग गर्न नजान्दा खुल्ला दिसा गरेका रहेछन् । त्यसपछि पहिले चर्पी बनाउन तातिएका गाउँका य्ुवायुवतीले बृद्धबृद्धालाई चर्पी प्रयोग गर्ने तरिका सिकाउन थाले । हिम्मपुरका मुकेश चौधरी भन्नुहुन्छ ‘पहिले चर्पी बनाउन सकस भयो अनि बृद्धबृद्धालाई चर्पी प्रयोग गर्न लगाउन पनि निक्कै मुश्किल भयो, तैपनि हामी सफल भएका छौं ।’

चर्पी बनाएर मात्र खुल्ला दिसापिसाब रोकिदैन, बरु बालबालिका, युवायुवती बृद्धबृद्धा सबैका लागि उचित हुने खालको चर्पी बनाउनुपर्छ र चर्पी प्रयोग गर्ने तरिका पनि जानेको हुनुपर्छ । हिम्मतपुरका युवायुवतीको अनुभवले यही कुराको पुष्टि गरेको छ ।

बृद्धबृद्धालाई चर्पी प्रयोग गर्न सिकाउने मध्येकी सीता चौधरी भन्नुहुन्छ ‘पहिले देखि नै लागेको बानी बुढाबुढी चर्पीमा बस्दा दिसा आउँदैन भन्ने, बस्न नजान्ने, दिसा गरेपनि त्यसको सरसफाइ नगर्ने, बालबालिकाले ढुंगा तथा काठको प्रयोग गरिदिने गर्छन् यो कुरा सिकाउन हामीलाई निक्कै समय लाग्यो । तर घरका जान्ने छोराछोरीले बुबाआमालाई सिकायो भने यो असम्भव पनि रहेनछ ।’

युवायुवतीको अथक प्रयासले अहिले हिम्मतपुरमा सरसफाईको अवस्था सुध्रिएको छ । हिम्मपुरबासीको हिम्मतले बालबालिका तथा बृद्धबृद्धाले पनि चर्पीको गर्छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार