सरसफाइ सम्बन्धी चेतना जगाउन भित्तेलेखन प्रभावकारी बन्दै

सल्यान ५ चैत्र । ‘खुल्ला ठाउँमा दिसा गर्नु पाप कर्म लाज हो, घरमा चर्पी बनाउने, भोलि होइन आज हो ।’ सल्यानको सेजल्टाकुरामा रहेको तीलु भडेंलको घरको भित्तामा चर्पी बनाउन आग्रह गरिएको नारा लेखिएको छ । खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय सल्यानले लेखेको यो नारा चार बर्ष अगाडि लेखे पनि अझै उस्तै छ ।

सरसफाइलाई जोड दिएर लेखिएका यस्ता नारा तीलु भडेलको घरमा मात्र नभई अरु ठाउँमा पनि लेखेको पाइन्छ । सल्यानकै अर्को घरको भित्तामा लेखिएको छ ‘जताततै दिसापिसाब जताततै गन्ध, कहिले होला साहिला दाजु, यो चलन बन्द ।’

स्थानीय बासिन्दाको मन छुने गरी कवितात्मक शैलीमा लेखिएका यस्ता नाराले जो कसैलाई एकपटक उभिएर हेर्न बाध्य बनाउँछ । सरसफाइ सम्बन्धी चेतना जगाउनका लागि लेखिएका यस्ता नाराले धेरैको आनीबानीमा पनि परिवर्तन आएको बताउनुहुन्छ सेजल्टाकुरा १ सल्यानका नरेन्द्रलाल भडेल ।

उहाँका अनुसार एकैपल्ट मनमा बस्ने गरी लेखिएको हुनाले यसले पार्ने प्रभाव राम्रो छ । ‘कुरामा कुरा आउँदा घरको भित्तामा त यस्तो लेखिएको थियो भनेर भन्छन् नि ? यसले मानिसको आचरण सुधार्न पनि सहयोग पुगेको मैले चाहिं महसुस गरेको छु’ उहाँले भन्नुभयो ।

आँखाले देखेको कुराले केही छाप छोड्ने हुँदा साक्षर जमातमा यसले राम्रै प्रभाव छर्न सकेको पार्ड नेपालको मूल्याङ्कन छ । लेखेको कुराले बानीव्यहोरा परिवर्तन गर्न सजिलो हुने भएकाले पार्ड नेपालले समेत भित्तेलेखन तथा होर्डिङ बोर्ड राख्ने काम गर्दै आएको पार्ड नेपालका अध्यक्ष शान्त थापाले बताउनुभयो । ‘अरुको आँखा तान्ने गरी लेखिएको यस्ता नारा मानिसको मनमा बसिरहन्छ, यसले दायित्वबोध गराउँछ र व्यक्तिको आनीबानी परिवर्तनका लागि नैतिक दबाब सिर्जना गर्छ भन्ने लाग्छ, हामीले पनि गर्दै आएका छौं ।’ अध्यक्ष थापाले भन्नुभयो ।

होर्डिङ बोर्ड हावाले उडाउने र पर्चा पम्प्लेट तथा तुल व्यानर पनि च्यातिन वा मेटिन सक्ने भएकाले भित्तेलेखन नै प्रभावकारी र स्थायी विधि हुने सेजल्टाकुरा १ सल्यानकी तीलु भडेंलको अनुभव छ । घरको भित्ता तर्फ औल्याउँदै भँडेलले भन्नुभयो ‘भारी बोकेरै हिडिरहेको मानिस भएपनि यहाँ उभिएर एकपटक पढेकै देख्छु, पढेपछि त मनले एकपटक गुन्दो हो, ए ! रामै लेखेको रहेछ भन्ने त लाग्दो हो नि ? त्यसैले मलाई भित्तेलेखन प्रभावकारी माध्यम हो भन्ने लागेको छ ।’

भित्ते लेखन होस् वा अन्य कुनै, यो पनि सरसफाइ सम्बन्धी सन्चार गराउने एउटा विधि हो । सबै ठाउँमा एउटै विधि प्रभावकारी नहुन पनि सक्छ, तर सल्यानमा भने यो विधि निक्कै प्रभावकारी भएको सरसफाइमा संलग्न संघसंस्थाका पदाधिकारीहरु बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार