सुर्खेत ८ चैत्र । आधा जिन्दगी जंगल, झाडी र खोल्सा खोल्सीमै दिसापिसाब गरेर विताएका बीरेन्द्रनगर नगरपालिका १ सुर्खेतकी लक्ष्मी नेपालीको घरमा अहिले पक्की चर्पी बनेकोे छ । विद्यालयमा अध्ययनरत छोराछोरीले चर्पी बनाउन आग्रह गरेपछि लक्ष्मीले चर्पी बनाउनु भएको हो । ‘छोरीले नभनेको भए सायद मेरो घरमा अहिले पनि चर्पी बन्ने थिएन, स्कुलमा चर्पी नहुँदा अरुले हेपेको कुरा सुनाए, चर्पी बनाउने तरिका पनि सिकाए, एक दिन त चर्पी छ छैन भनेर छोरीकै बाल क्लवका सदस्यहरु आएछन् अनि मैले चर्पी बनाएको हुँ’ पक्की चर्पी देखाउँदै लक्ष्मीले भन्नुभयो ।
सँगै पढेका साथीको घरमा चर्पी देखेका केटाकेटीले चर्पी नबनाए सम्म धरै नदिएपछि चर्पी बनाएका लक्ष्मी मात्र होइन अहिले उहाँका स–परिवार खुसी छन् । आफ्नो आग्रहलाई स्वीकारेर आमाले चर्पी बनाए पछि लक्ष्मीकी छोरी मीना नेपाली पनि खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘चर्पी नबन्दा सम्म मलाई स्कुल जानै लाज लाग्थ्यो, सबै साथीको घरमा चर्पी बनेसक्दा हाम्रोमा नबन्दा मलाई लाजको अनुभूति हुन्थ्यो, मैले त आमालाई भने पनि, चर्पी नबनाए म स्कुल जान्न भनेपछि आमाले बनाउनुभयो ।’
घरको नजिकै पक्की चर्पी निर्माण भएपछि अहिले लक्ष्मीको घरको शोभा पनि बढेको छ । यसले घर वरपरको वातावरण सफा सुग्घर भएको छ भने आफ्नो इज्जत बढेको पनि महसुस गर्न थाल्नुभएको छ । ‘अहिले जहाँ पनि चर्पीकै कुरा हुने रहेछ, पहिले नहुँदा चर्पीको कुरा नगरुन् जस्तो लाग्थ्यो, अहिले त अरुले चर्पीको कुरा गरे हाम्रोमा पनि छ भनेर अघि नै भन्ने गर्छु’ लक्ष्मी नेपालीले भन्नुभयो ।
सुर्खेतको बीरेन्द्रनगर नगरपालिका १ सुर्खेतमा छोराछोरीले भनेपछि चर्पी बनाएका धेरै घर छन् । कुनै समय चर्पी चाहियो भनेर बालबालिकाले कुरा गर्दा उल्टै गाली गर्ने अभिभावकहरु हिजोआज बालबालिकालाई स्याबासी दिन्छन् ।
‘मानिसलाई बस्नका लागि घर चाहिए झैं दिसापिसाब गर्न चर्पी पनि चाहिदो रहेछ यो कुरा छोरी मीनाका कारण थाहा पाएँ, छोरी मीना त मेरो चर्पी गुरु हुन् नि ?’ लक्ष्मीले हाँस्दै भन्नुभयो ।