यी हुन् सरसफाइमा झापाले हासिल गरेको सफलता र चुनौतीहरु

काठमाडौ १५ चैत्र । झापाले सरसफाइमा ८२ प्रतिशत सफलता हासिल गरेको छ । १ लाख २३ हजार १ सय ११ घरपरिवार रहेको झापामा १ लाख १० हजार ८ सय ५६ घरमा चर्पी बनिसकेका छन् भने १२ हजार २ सय ५५ घरमा अझै चर्पी बन्न बाँकी छ ।

झापामा सरसफाइ अभियानलाई तीब्रता दिन व्यापक प्रचार प्रसार गरिएको छ भने भीवास सीसीलाई सक्रिय बनाई काम गरिएको छ । सबैलाई चर्पी बनाउन प्रोत्साहित गरेको, जिल्ला समन्वय समिति तथा गाउँपालिकाको सहयोगी भूमिकालाई सशक्त बनाएको पक्षलाई झापाले सफल पक्षको रुपमा दाबी गरेको छ ।

राष्ट्रिय सरसफाइ समन्वय समितिको सचिवालयले पूर्वाञ्चलमा गरेको सरसफाइ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा झापाले जनचेतनाको कमीले सरसफाइ कार्यक्रममा अपेक्षित उपलब्धी हासिल गर्न नसक्नु, चर्पी बनाउन अनुदान खोजी गर्नु, बसाई सराइको समस्या, सरसफाइ कार्यक्रम सन्चालन गर्न बजेट अभाव, जातिय आधारमा पनि चर्पी बनाउन समस्या भएको जस्ता विषयलाई सरसफाइमा आएको बाधा तथा चुनौतीका रुपमा राखेको छ ।

अन्तरक्रियामा जिल्लाको समग्र सरसफाइको अवस्था, जिल्लामा सरसफाई अभियान, पूर्ण सरसफाइमा भएका सफल क्रियाकलापहरु, जिल्लामा खुल्ला दिसामुक्त अभियान/पूर्ण सरसफाइमा देखिएका अवरोध तथा चुनौतीहरु उल्लेख गर्न फारम भर्न लगाएको थियो ।

यस्तै खुल्ला दिसामुक्त अभियान सफल बनाउन समाधानका उपाय र भावी कदमबारे पनि धारणा मागिएकोमा झापाले गाविस तथा नगरपालिकाका कर्मचारीलाई खुल्ला दिसामुक्त अभियान सम्बन्धी कार्यक्रम तयार गर्न लगाउने, विभिन्न क्षेत्रमा सरसफाइ गोष्ठी र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार