जनकपुर १७ चैत्र । जनकपुरमा खुल्ला ठाउँमा दिसा गरिरहेका बेला आज विहान प्रहरीले १७ जना बाटो हगुवालाई पक्राउ गरेको छ । खुल्ला ठाउँमा दिसा गरिरहेको समयमा मुजेलियाबाट खटिएको प्रहरी टोली धनुषाको सिनुरजोडाबाट १२ जना र जनकपुर मुजेलियाबाट ५ जनालाई पक्राउ गरिएको मुजेलिया प्रहरी कार्यालयका प्रमुख टीका बरालले जानकारी दिनुभयो ।
पक्राउ गरिएका बाटो हगुवालाई एक अर्काको कान समात्न लगाई सजाय दिएको र सम्झाई बुझाई छाडेको बरालले बताउनुभयो । घरमा चर्पी बनाउन र खुल्ला ठाउँमा दिसापिसाब नगर्न गरिएको अनुरोधलाई वेवास्त गर्दै जथाभावी दिसापिसाब गरेर वातावरणलाई फोहोर र दुर्घन्धित बनाएकाले बाध्य भएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बाटो हगुवामा केही महिला समेत रहेको तर महिला प्रहरी नभएकाले उनीहरुलाई पक्राउ नगरिएको प्रहरीले जनाएको छ । प्रहरीले यो अभियानलाई निरन्तरता राख्ने जनाउदै खुल्ला ठाउँमा दिसापिसाब नगर्न अनुरोध समेत गरेको छ ।
सरकारले सन् २०१७ भित्र देशलाई खुल्ला दिशामुक्त बनाउन घरघरमा चर्पी निर्माण अभियान सञ्चालन गरिरहेको छ ।