सुरक्षित पानी वितरण गर्न अत्याधुनिक मेसिन जडान

कञ्चनपुर १३ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मा रहेको झलारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सुरक्षित खानेपानी उपलब्ध गराउन अत्याधुनिक मेसिन जडान गरेको छ ।

समितिले ‘वाक टेक’ नामक अत्याधुनिक मेसिन जडान गरी उपभोक्तालाई सुरक्षित पानी उपलब्ध गराउन थालेको हो । मेसिनको सहायताले पानीमा रहेको अम्लीयपन, क्षरियपन, धमिलोपन र क्लोरिनजस्ता पदार्थ पत्ता लगाई उपभोक्तालाई गुणस्तरयुक्त पानी उपलब्ध गराउन सजिलो भएको समितिका अध्यक्ष कमलापति भट्टले बताउनुभयो ।

मेसिनको सहायताले पानीमा रहेको अशुद्धता हटाउनाका साथै पानी शुद्ध पारी उपभोक्तालाई उपलब्ध गरिएको उहाँले बताउनुभयो । चार लाख ५० हजार रुपैयाँ पर्ने मेसिन खानेपानी तथा गुणस्तर विभागले दुई महिनाअघि उपभोक्ता समितिलाई उपलब्ध गराएको हो । समितिले अहिलेसम्म मेसिनको सहायताले जडान गरिएका दुई दर्जन भन्दा बढी धाराको पानीको परीक्षण गरिएको छ ।

धाराको पानी परीक्षण गर्दा कुनै किसिमको अशुद्धता र कीटाणु नभेटिएको अध्यक्ष भट्टले बताउनुभयो । २ लाख २५ हजार लिटर क्षमताको ट्याङ्की मार्फत ४ सय ९० धारा मार्फत पानी वितरण गरिरहेको समितिले अहिले एक लाख ५० हजार लिटर पानीको खपत गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार