बारा २८ वैशाख । बाराको कोल्ही नगरपालिका ४ चपहीमा खुला दिसा गरिरहेका ५ जना महिलालाई पक्राउ गरी कहिल्यै खुला दिसा नगर्ने शर्तमा छाडिएको छ ।
म्यादी प्रहरी, टोल वास सीसीका पदाधिकारी, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का सरसफाइ प्रज्वलक र नेपाल रेडक्रस सोसाइटी सहितको अनुगमन टोलीले उनीहरुलाई पक्राउ गरी सजाय स्वरुप कान समातेर उठबस गर्न लगाएर छाडिएको एन्फोकी सरसफाइ प्रज्वलक बविता चौधरीले जानकारी दिनुभयो ।
‘हामीले विहान बेलुका अनुगमन गर्ने गरेका छौं, हामीलाई देख्दा पनि अटेर गरेर बसेकाहरु पक्राउ परेका हुन् अरु चाहिं चप्पल सहित छाडेर भाग्न सफल भएका छन्’ सरसफाइ प्रज्वलक चौधरीले भन्नुभयो ।
बाराको विभिन्न गाउँपालिका तथा नगरपालिकामा खुला दिसा गर्नेलाई जरीवाना समेत असुल्न थालिएको छ । पटक पटक चर्पी बनाउन गरिएको आग्रहलाई वेवास्ता गरेकालाई खुला दिसा गर्नेलाई प्रहरी, टोलका अगुवा, भीवाससीसीका पदाधिकारी र विभिन्न संघसंस्थाका पदाधिकारी सम्मिलित टोलीले दिसा गर्ने समय पारी अनुगमन थालेको हो ।
अनुगमन टोलीले आजै रामपूर्वा, कोलहवी लगायतको क्षेत्रमा पनि अनुगमन गरेको छ ।