रामीडाँडा र रातामाटालाई असोज १५ सम्ममा पूर्ण सरसफाइ गाउँ घोषणा गरिने

सल्यान : सल्यानको कपुरकोट गाउँपालिकाका जनप्रतिनिधीलाई पूर्ण सरसफाइको विषयमा अभिमुखीकरण गरिएको छ । सरसफाइको अभावमा पोषण स्थितीमा सुधार आउन नसक्ने भएकाले जनप्रतिनिधीलाई अभिमुखीकरण गरिएको सुआहाराका सरसफाइ अधिकृत किरण ढुंगानाले जानकारी दिनुभयो । सुहाराले पोषण स्थिति सुधारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु र सदस्यहरुलाई पूर्ण सरसफाइको महत्व, सरसफाइ अभियानलाइ सञ्चालन गर्न जनप्रतिनिधीको भूमिका र सरसफाइले आमा तथा वच्चाको पोषण स्थितिमा सुधार ल्याउन खेल्ने भूमिकाका विषयमा अभिमुखीकरण गरिएको सरसफाइ अधिकृत ढुंगानाले बताउनुभयो ।

‘खाना खानु वा छुनु अघि तथा चर्पी गइसकेपछि, वच्चाको दिसा धोइसकेपछि र फोहोरजन्य वस्तु छोइसकेपछि साबुन पानीले मिचीमिची हात धुनुपर्छ,’ उहाँले भन्नुभयो ‘हात धोएमा झाडापखाला, श्वासप्रश्वाससम्बन्धी संक्रमण, नवजात शिशुको मृत्यु हुने सम्भावना ४० प्रतिशतले कमी ल्याउन सकिन्छ, यी र यस्ता विषयमा हामीले जनप्रतिनिधीलाई अभिमुखीकरण ग-यौं ।’

अभिमुखीकरण कार्यक्रममा गाउँपालिका प्रमुख भीम बहादुर सेनले कपुरकोट गाउँपालिकालाइ छिट्टै पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्न सक्रिय भएर लागेको र सुआहारा कार्यक्रमसँग सहकार्य गर्ने बताउनुभयो ।

रामीडाँडा र रातामाटा पूर्ण सरसफाइ गाउँ घोषणा हुने चरणमा

कपुरकोट गाउँपालिकाको रामीडाँडा र रातामाटालाई पूर्ण सरसफाइ गाउँ घोषणा गर्ने अन्तिम तयारी भएको छ । साविक सिनवाङ गाविसको वडा नं. ८ रामीडाँडा र वडा नं. ६ रातामाटाका ४२ घरमा हालै अनुगमन गरिएको छ । वडा अध्यक्ष हेरम बहादुर बुढाथोकीको अगुवाईमा वडा सचिव ज्ञान बहादुर महतारा, सुआहाराका सरसफाइ प्रज्वलक कृष्ण गौतम, गेहेन्द्र केसी, भवानी माविका प्रअ दल बहादुर खड्का, सरसफाइ टोल संयोजक सावित्रा डाँगी लगायतको टोलीले अनुगमन गरेको हो ।

रामीडाँडा र रातामाटालाई आगामी असोज १५ सम्ममा पूर्ण सरसफाइयुक्त टोल घोषणा गर्ने तयारी भएको सरसफाइ प्रज्वलक कृष्ण गौतमले जानकारी दिनुभयो ।

सुआहाराले कपुरकोट गाउँपालिकाको वडा नम्बर ५ र ६ (साविकको रीम र सिनवाङ गाविस) मा गत बर्षदेखि पूर्ण सरसफाइ अभियान सञ्चालन गरिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार