पूर्ण सरसफाइ अभियानमा विद्यार्थीको सक्रियता

रुकुम : हिजोआज रुकुमका बालबालिकाहरु पाठ्यक्रममा आधारित पुस्तकका पानाहरु मात्र पल्टाउँदैनन् बरु हात धुने तरिका, शौचालय प्रयोग गर्ने, सुरक्षित खानेपानी तथा खानेकुरा र वातावरणीय सरसफाइका विषयमा व्यवहारिक ज्ञान पनि आर्जन गर्छन् ।

बालबालिकाहरुलाई पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलापहरुमा सरिक गराउन थालेपछि किताबी ज्ञानका अतिरिक्त बाहिरी ज्ञान पनि सिक्न थालेका हुन् ।
विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा एकीकृत विकास समाज नेपालले रुकुमका १३८ वटा विद्यालयमा पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । ती विद्यालयमा पूर्ण सरसफाइ सम्बन्धीका फ्लिप चार्ट तथा अन्य सामग्रीहरू पनि सहयोग गरिरहेको छ । 

विद्यार्थीलाई पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलापमा सहभागी गराउँदा विद्यार्थी मार्फत हरेक घरघरमा पुग्ने भएकाले बालबालिकाहरुलाई पूर्ण सरसफाइ कार्यक्रममा सरिक गराएको एकीकृत विकास समाज नेपाल रुकुमका जिल्ला सरसफाइ अधिकृत झनकप्रसाद जोशीले जानकारी दिनुभयो ।

जिल्लाका १३८ वटा प्राथमिक विद्यालयका झण्डै १८ हजार ५ सय बालबालिका र अभिभावक समेटिएको पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रमले हात धुने बानीको विकास, सुरक्षित पानी पिउने, सुरक्षित खाना खाने, शौचालय प्रयोग गर्ने जस्ता बानीमा सुधार आएको सरसफाइ अधिकृत जोशीले बताउनुभयो ।

‘सरसफाइ सम्बन्धी कार्यक्रमहरू प्रभावकारी बन्दै गएको छ, विद्यार्थीले व्यक्तिगत सरसफाइमा ध्यान दिन थालेका छन्, वातावरणीय सरसफाइमा समाजको क्रियाशीलता बढ्दै गएको छ’ जिल्ला सरसफाइ अधिकृत जोशीले भन्नुभयो ।

पूर्ण सरसफाइ शुरु हुनु अघि विद्यालयको वातावरण फोहोर भएको र अहिले बालबालिकाहरु सफाइ प्रति सचेत भएपछि फोहोरमैला पनि कम भएको शिक्षकहरु बताउँछन् । बालबालिकाहरु आफै सरिक भएर शौचालय सफा गर्ने, कक्षाकोठाको सफा गर्ने र कागजका टुक्रा, प्लाष्टिकजन्य फोहोरहरु उचित स्थानमा विसर्जन गर्ने भएकाले विद्यालयको वातावरण सफा सुग्घर हुदै गएको हो ।

जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाइमा नगरपालिका तथा गाउँपालिका र वडा स्तरमा रहेका समितिहरूको अगुवाइमा पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार