भक्तपुर : भक्तपुरलाई पूर्ण सरसफाइयुक्त बनाउन सरसफाइसँग सरोकारवाला पूर्ण सरसफाइ रणनीतिक योजना बनाएर अगाडि बढ्ने भएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधी सहित सहित सरसफाइको क्षेत्रमा क्रियाशील संघसंस्थाका लागि आयोजित पूर्ण सरसफाइ विषयक कार्यशाला गोष्ठीमा सरोकारवाला रणनीतिक योजना बनाएर अगाडि बढ्ने निष्कर्षमा पुगेको हो ।
भक्तपुर जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न सरोकारवाला निकायहरु, स्थानीय संघ संस्था लगायत सरसफाइ अभियन्ताहरुको उत्साहजनक भूमिका रहेकाले भक्तपुरलाई पूर्ण सरसफाइ उन्मुख जिल्ला बनाउन पनि सरसफाइसँग सरोकार राख्ने सबै निकाय, स्थानीय सरकार र जनप्रतिनिधीको सक्रिय सहभागिताको अपेक्षा गरिएको हो ।
युन ह्याविट्याट र युवा कृयाकलाप समाज (सोया) भक्तपुरको सहकार्यमा सञ्चालन भई रहेको Post ODF Support in Bhaktapur परियोजना अन्तर्गत कार्यक्रम संचालन भइरहेका वडाका प्रतिनिधीहरुका लागि गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीमा भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. १, २, ७, ९ र सूर्यविनायक नगरपालिकाको वडा नं. १, ४ र ८ नं. वडाका वडा प्रमुखहरु, वडा सचिवहरु, वडा स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका सदस्यहरु लगायत जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका नगर प्रमुख, उप प्रमुख तथा गैरसरकारी संस्थाका प्रतिनिधीको सहभागिता थियो ।
कार्यशालामा खानेपानी तथा ढल निकास विभाग, सामाजिक परिचालन शाखाका प्रमुख एवं राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य समाजशास्त्री कमल अधिकारीले पूर्ण सरसफाइ मार्गनिर्देशन २०७३ अन्तर्गत सरसफाइका सूचकहरु, सरसफाइ रणनीतिक योजना निर्माण गर्ने विषयमा छलफल गर्नुभयो ।


1021 पटक हेरिएको 

