बाँके : चर्पी बनाउने कुरा गर्दा कोही पैसा छैन भन्छन् । कोही अनुदान दिए बनाउँछौं भन्छन् । कति त अहिलेसम्म चर्पी नभएरै चल्यो किन चाहियो चर्पी ? पनि भन्छन् ।
मानिसहरुको यही सोचाइका कारण चर्पी निर्माणको काम प्रभावित हुँदै आएको छ । चर्पी बनाउन पैसा नहुने, अरुले अनुदान दिनुपर्ने, तालिम चाहिने जस्ता बहाना बनाएर चर्पी नबनाउने मानिसहरु समाजमा धेरै छन् ।
तर चर्पी बनाउने इच्छा मात्र जाहेर गरे, उपाय अनेकौं निस्कन्छन् । चर्पी बनाउन पैसाकै अभाव भएछ भने पनि उपाय निस्कन्छ । बाँकेको कोहलपुरका बासिन्दाले ऋण लिएर बनाएको चर्पीले खुसी र आम्दानी दुवै दिएको छ ।
लुमन्ती आवासका लागि सहयोग समूह र महिला बसोबास बचत तथा ऋण समूहबाट तीन बर्ष पहिले नै चर्पी बनाएका उनीहरुले जीवनमा कहिल्यै नपाएको खुसी पाएका छन् ।
सीता जिएम कोहलपुरको गणेशटोलमा बस्नुहुन्छ । तीन बर्ष अघि महिला बसोबास बचत तथा ऋण समूहबाट ६ हजार ५ सय ऋण लिएर बनाएको चर्पीले उहाँलाई इज्जत, आम्दानी र खुसी दिएको छ । सीता भन्नुहुन्छ ‘ऋण लिएपछि तिर्नु प-यो, तिर्नलाई आम्दानी चाहियो, आम्दानीका लागि केही व्यवसाय त गर्नैप¥यो, मैले सा –सानो तरकारी खेती गर्न थालें, त्यसैले मलाई व्यवसायी पनि बनायो ।’
उहाँले ऋण लिएको एक बर्षमा ऋण तिरिसक्नुभयो । तर चर्पी र उहाँको खेती अहिले पनि चलिरहेको छ ।
सीता जिएम्ले जस्तै कोहलपुरकै मधु अधिकारीले पनि ऋण लिएरै चर्पी बनाउनुभएको हो । अझ सीताको भन्दा फरक त उहाँले चर्पी सँगै गोबर ग्याँस प्लान्ट पनि जडान गर्नुभएको छ ।
गोबर ग्याँसबाट खाना पकाउन थालेपछि खाना पकाउने ग्याँसमा हुदै आएको खर्च पनि जोगिएको छ । ‘पहिले खुला दिसापिसाबका कारण मानिस विरामी परिरहन्थ्यो, अहिले दिसाबाटै खाना पकाउँछौं’ मधु अधिकारी भन्नुहुन्छ ‘एउटा ग्यास सिलिण्डिर बर्ष दिनसम्म टिक्ने भएको छ ।’
उहाँका अनुसार पहिला झाडापखाला तथा आउँ जस्ता रोगहरु लागिरहन्थ्यो, दुई चार पैसा खर्च भइरहन्थो । अहिले त औषधीमा हुने खर्च र खाना पकाउने ग्यास किन्दा हुने खर्च दुवै जोगिएको छ ।
पाँच जनाको परिवारलाई खाना पकाउन गोबरग्याँस नै पर्याप्त हुन्छ । कहिलेकाहीं दुई चार वटै चूलो बाल्नु पर्ने अवस्थाका लागि मधुले एलपी ग्याँस पनि जडान गर्नुभएको छ । कहिलेकाहीं मात्र प्रयोगमा आउने भएकाले एलपी ग्यासको एउटा सिलिण्डले बर्षदिनसम्म पुग्ने उहाँले बताउनुभयो ।
ऋण लिएर बनाएको चर्पीले मासिक कति रुपैयाँ जोगायो भन्ने हिसाब किताब नगरेकी अधिकारी भन्नुहुन्छ ‘तपाई नै हिसाब गर्नुहोस् न ? पाँच जनाको परिवारलाई खाना पकाउँदा एउटा सिलिण्डर साढे २ महिनामा सकिन्थ्यो । पाँच ६ महिनाको अन्तरमा यसो औषधी उपचारका लागि पनि खर्च भईहाल्थ्यो, कति फाइदा फाइदा ।’


989 पटक हेरिएको 

