हुम्ला : विकट हिमाली जिल्ला हुम्ला ४३ औ खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको छ । आज सदरमुकाम सिमकोटमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व खानेपानी तथा सरसफाइ मन्त्री जीवन बहादुर शाहीले हुम्लालाई खुल्ला दिसामुक्त भएको घोषणा गर्नुभयो ।
हुम्लाका १० हजार १ सय २५ घरपरिवारले शौचालय निर्माण गरी प्रयोग भईरहेको र जिल्ला भरिका विभिन्न संघसंस्थामा समेत शौचालय निर्माण भई प्रयोग भइरहेकाले हुम्लालाई खुला दिसामुक्त घोषणा गरिएको हो ।

हुम्लाका ८३ प्रतिशत नागरिकले खानेपानीको धारा प्रयोग गरिरहेको, ५ प्रतिशतले निजी धारा प्रयोग गरिरहेको र सबै सरकारी कार्यालयमा चर्पी तथा धाराको व्यवस्था भएको खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव ज्वालाराज शाहीले बताउनुभयो ।
खुला दिसामुक्त गर्न २० करोड लगानी
हुम्लामा विगत ७ वर्षदेखि सरकारी तथा गैरसरकारी संघसंस्थाले खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गरिरहेको छ । सात बर्षको अवधिमा खानेपानी र सरसफाइको क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाले करिव २० करोड रुपैयाँ लगानी गरेको सदस्य सचिव शाहीले बताउनुभयो ।
‘हामीले चर्पी बनाउन स्थानीय बासिन्दालाई परिचालन ग-यौं, तालिम दियौं, सचेतनामूलक कार्यक्रम सञ्चालन ग-यौं र खानेपानी आयोजनाहरु निर्माण ग-यौं जसका कारण आज हामीले हुम्लालाई खुला दिसामुक्त घोषणा गर्न पायौं’ उहाँले भन्नुभयो ।
हुम्लाको पहिलो खुला दिसामुक्त गाउँ विकास समिति श्रीमष्ठा गाविस हो । श्रीमष्ठालाई २०६८ मंसिर १७ गते नै खुला दिसामुक्त गाविस घोषणा गरिएको थियो ।
खुला दिसामुक्त जिल्ला घोषणा समारोहमा हुम्लाका स्थानीय कला संस्कृतिको प्रदर्शन गरिनुका साथै जिल्लाका राजनीतिक दल र नागरिक समाजले शुभकामना व्यक्त गरेका थिए ।


983 पटक हेरिएको 

