काठमाडौ : खुला दिसामुक्त भइसकेका गाउँटोल तथा गाउँपालिका र नगरपालिका यत्तिबेला पूर्ण सरसफाइ तर्फ उन्मुख भइरहेका छन् । आफू बसेको गाउँटोललाई पूर्ण सरसफाइमा कसरी नमुना बनाउने भन्ने थाहा पाउनका लागि यसका चरणहरुका विषयमा ज्ञान हुनु जरुरी छ ।
पूर्ण सरसफाइ नमुना वडा, गाउँपालिका वा नगरपालिका बनाउन मुख्यतय: पाँच चरण पूरा गर्नुपर्दछ ।
चरण नं. १ : समूह निर्माण
गाउँपालिका कार्यालय तथा गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सँग समन्वय गरी सरसफाइ कार्यक्रम वा समय दिन सक्ने, स्थायी रुपमा गाउँपालिकामै बस्ने र स्वयंसेवकको रुपमा खट्न सक्ने पाँच जना पूर्ण सरसफाइ प्रबद्र्धकहरुको टोली गठन गर्नु पर्दछ ।
पूर्ण सरसफाइ प्रबद्र्धकहरुको टोली बनाउँदा कम्तीमा १ जना शिक्षक र १ जना महिला स्वास्थ्य स्वयंसेविकालाई पनि समावेश गर्न सकेमा अझ बढी प्रभावकारी हुन्छ ।
टोलीलाई पूर्ण सरसफाइका ६ वटा सूचक ( चर्पीको प्रयोग, साबुन पानीले हात धुने बानी, सुरक्षित पानी, सुरक्षित खाना, सफा घर आँगन र सफा वातावरण ) यी सूचक मध्ये हरेक घरधुरीसँग सम्बन्धित सूचकहरु (सफा वातावरण बाहेक) मा एक जनालाई एक विषयमा गहन रुपमा ज्ञान र सीप दिई सो विषयमा पोख्त बनाउने, साथै सबैलाई वातावरणीय सरसफाइको विषयमा ज्ञान र सीप प्रदान गर्ने ।
उनीहरुले सो वडा तथा गाउँपालिकामा विषयगत स्रोत व्यक्तिका रुपमा काम गर्नेछन् । पछि आवश्यकता अनुसार वडा तथा विद्यालयमा सो टोलीले किसिमको समूह निर्माण गर्न सक्नेछ ।
चरण नं. २ : अवस्था विश्लेषण र मूल्याङ्कन
पूर्ण सरसफाइका ६ वटै विषयमा गाउँपालिकाको अवस्था विश्लेषणका लागि गठन गरिएको समूहको सक्रियतामा गाउँपालिकाका सम्पूर्ण वडाहरुमा केही जानकार मानिसहरुसँग छलफल गरी वडाको वस्तुस्थिति सङ्कलन गर्ने वा वडाका सबै बर्गहरुको प्रतिनिधित्व हुने गरी १०/२० प्रतिशत घरधुरीको सर्वेक्षण गरी सरसफाइको अवस्थाका विषयमा निष्कर्ष निकाल्नुपर्दछ । यसबाट गाउँपालिकाको अवस्था विश्लेषण गर्न र थालनी गर्नुपर्ने कार्यको विषयमा रणनीति तयार गर्न सजिलो हुन्छ ।
चरण नं. ३ : प्रबद्र्धन
सरसफाइ प्रबद्र्धन टोलीले गाउँपालिका भित्र विभिन्न प्रबद्र्धनात्मक क्रियाकलापहरु गरी गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउनका लागि काम गर्नेछ । टोलीले घरदैलो, नाटक, विभिन्न प्रतियोगिताहरु तथा अन्य उपायहरुको अबलम्बन गरी गाउँपालिकाका सबैलाई पूर्ण सरसफाइ प्राप्ति तर्फ डो¥याउनेछ ।
घरदैलो गर्दा घरको मुख्य ढोकामा एक प्रकारको निलो स्टिकर टाँसिनेछ । यस स्टिकरमा घरमा हुने पूर्ण सरसफाइका पाँच सूचकहरु ः चर्पीको प्रयोग, साबुन पानीले हात धुने बानी, सुरक्षित पानी, सुरक्षित खाना र सफा घर आँगन अङ्कित हुनेछन् ।
कुनै घरको तीन सूचकहरु ठीक भएमा ठीक भएको ठाउँमा ठीक चिन्ह प्राप्त गर्नेछ वा सो ठाउँमा हरियो रङले भरिनेछ र बाँकी २ ठाउँमा खाली नै राखिनेछ । घरधुरीका साथसाथै वातावरणीय सरसफाइ हासिल गर्नका लागि सार्वजनिक स्थानहरु, पानीका मुहानहरु आदिको सरसफाइ तथा संरक्षणमा पनि जोड दिनुपर्दछ ।
चरण नं. ४ : प्रमाणीकरण
सरसफाइ प्रबद्र्धक टोलीले प्रबद्र्धनात्मक क्रियाकलापहरु गरी सकेपछि कुन कुन घरले सो अबलम्बन गरेको हो सो कुराको फेरि जाँच गर्नुपर्नेछ ।
यदि कुनै घरले पहिले लगाएको निलो स्टिकरमा सबै पाँच वटै सूचकहरुमा ठीक चिन्ह प्राप्त गरी सकेमा हरियो स्टिकर प्राप्त गर्नेछ । यसरी सरसफाइ प्रबद्र्धक टोलीले कुनै पनि घरमा हरियो स्टिकर टाँसी प्रमाणीकरण गरेको छ भने सो घरको पूर्ण सरसफाइ ठीक छ भनी ठहर गर्न सकिनेछ ।
चरण नं. ५ : सम्मान तथा कदर
हरेक वडामा प्रमाणीकरण भइसकेका घरहरु मध्येबाट पूर्ण सरसफाइका ५ वटै सूचकहरुलाई आधार बनाई एक उत्कृष्ट घरलाई र वातावरणीय सरसफाइ भएको एउटा वडालाई सम्मान गरिनेछ साथै कदर स्वरुप केही पुरस्कारको व्यवस्था गर्न सकिनेछ ।
यसका लागि सरसफाइ प्रबद्र्धक टोलीले वातावरणीय सरसफाइ भएका सबैभन्दा राम्रो ३ वटा वडा र प्रत्येक वडाबाट ३ वटा उत्कृष्ट घरहरुको छनौट गर्नेछ । ती मध्ये एक उत्कुष्ट वडा र घरको छनौट गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले गर्नेछ ।
बार्षिक रुपमा मनाइने राष्ट्रिय सरसफाइ सप्ताह, विश्व वातावरण दिवस, विश्व हात धुने दिवस, विश्व पानी दिवस जस्ता राष्ट्रिय तथा विश्वव्यापी रुपमा मनाइने दिवसहरु हरेक बर्ष मनाइदै जानुपर्नेछ । यस्ता दिवस तथा कार्यक्रमले पूर्ण सरसफाइ कार्यक्रमलाई पुनर्ताजगी गर्न सहयोग पु¥याउँछ ।
साभार : खानेपानी तथा ढल निकास विभाग
वातावरणीय सरसफाइ शाखाद्धारा प्रकाशित ‘पूर्ण सरसफाइ प्रबद्र्धन कार्यक्रम’ सहयोगी पुस्तिका
नोट : नयाँ संरचना अनुसार गाउँ विकास समिति नरहेकाले गाउँ विकास समितिको सट्टा गाउँपालिका प्रयोग गरिएको छ ।


912 पटक हेरिएको 

