पिसाब गरेको निहुँमा छुरा प्रहार हुँदा एक जना घाइते

महोत्तरी : महोत्तरीको गौशालामा पिसाब गरेको निहुँमा झडप हुँदा गौशाला नगरपालिका –८ का माओवादी कार्यकर्ता प्रमोद कुमार महतो घाईते हुनुभएको छ । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताको कुटाईबाट महतो घाइते हुनुभएको हो ।

आफ्नो गाडी अगाडि आएर प्रमोद महतोले पिसाव गरेको र सोही निहुुँमा झडप सुरु भएको फोरमकी प्रतिनिधिसभा उम्मेदवार लक्ष्मी महतोले बताउनुभयो ।

प्रमोदलाई सम्झाउन खोज्दा उहाँले आफूमाथि छुरा प्रहार गर्दा आफ्ना कार्यकर्ताले प्रतिरोध गर्दा घाइते भएको महतोले बताउनुभयो ।

तर माओवादी केन्द्रले भने गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो लगायतका नेता कार्यकर्ता पार्टी कार्यालयमा बसिरहेको समयमा लक्ष्मी महतोको नेतृत्वमा आएको टोलीले आक्रमण गरेको जनाएको छ ।

महतोको पेट र ढाडमा चोट लागेको र उहाँको जनकपुरस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

नजिकै शौचालय नभएकाले गाडीको पछाडि पट्टि आएर पिसाब फेरेको र सोही निहुँमा झडप भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन भइरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार