उषा खड्का, धनकुटा
धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको वडा नं. ३ डाँडागाउँ, सरसफाइमा नगरपालिकाकै नमुना गाउँ बनेको छ ।
नगरस्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिद्वारा गठन गरिएको अनुगमन समितिले अनुगमन गर्दा सरसफाइका विभिन्न सूचकहरुको आधारमा डाँडागाउँ सरसफाइमा नमुना भएको हो ।
यही पुस ६ गते वसेको नगरस्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको वैठकले पुर्ण सरसफाइका सुचकहरुको अनुगमन गर्न एक टोली बनाएको थियो । टोलीले वडाका घर, विद्यालय र सार्वजनिक स्थलको अनुगमन गरेपछि पुर्ण सरसफाइका सुचकहरु पुरा गरेको निश्कर्ष निकालेको हो ।
‘हामीले घर, विद्यालय, सार्वजनिक स्थल सबैको अनुगमन ग¥यौं, अरु वडाको तुलनामा वडा नं. ३ डाँडागाउँमा सबैतिर स्वच्छ र सफा पायौं, यसैको आधारमा डाँडागाउँ नमुना भएको हो’ अनुगमन टोलीको नेतृत्व गर्नुभएका वडा नं. ४ का यज्ञ चापागाईले भन्नुभयो ।
डाँडागाउँमा पर्डेप नेपाल र फण्डवोर्डको आर्थिक र प्राविधिक सहयोगमा विगत १ वर्ष देखि पुर्ण सरसफाइका कार्यक्रम सञ्चालन भइरहेको छ ।
संस्थाले सञ्चालन गरेका सरसफाइ शिक्षा, तालिम लगायत क्रियाकलाप प्रभावकारी भएको स्थानीय बासिन्दा बताउँछन् । संस्था र समुदायको सक्रियताले डाँडागाउँलाई पुर्ण सरसफाइ उन्मुख बनाउन सफल भएको सरसफाइ मुल्याङ्कन समितिका संयोजक मान बहादुर थापाले बताउनुभयो ।


967 पटक हेरिएको 

