रुकुम : कुनै समय साँझ पर्न साथ किताब र पेन्सिल बोकेर प्रौढ कक्षा धाउने पूर्वी रुकुमको भूमे गाउँपालिकाकी शारदा मल्ल हिजो आज सरसफाइ शिक्षामा भाग लिनुहुन्छ । पहिले अक्षर चिनाउँथ्यो, लेख्न सिकाइन्थ्यो, अहिले लेख्न पढ्न नजान्नेलाई पनि एकै ठाउँमा राखेर सरसफाइ शिक्षा दिइन्छ ।
विद्यालय उमेर पढ्न नपाएका व्यक्तिहरुलाई साक्षर बनाउने उद्देश्यले पढाइने प्रौढ कक्षामा जस्तै सरसफाइ शिक्षामा सरसफाइको अभावमा लाग्ने रोग, सफा घर आँगनको महत्व, चर्पी प्रयोग गर्ने तरिका, हात धुने तरिका लगायत विषयमा शिक्षा दिइन्छ ।
सरसफाइ शिक्षाबाट चर्पीको प्रयोग गर्दा हुने फाइदा, खानेपानी शुद्धिकरण गर्ने तरिका, सुरक्षित पानी तथा सुरक्षित खाना नखाँदा हुने स्वास्थ्य समस्या, व्यक्तिगत, घरायसी तथा वातावरणीय सरसफाइका विषयमा जानकारी हासिल गर्न पाएको सहभागीहरु बताउँछन् ।
रुकुममा पूर्ण सरसफाइका लागि स्वस्थ घर निर्माण गर्न घरायसी स्तरदेखि विभिन्न संघसंस्था क्रियाशील छन् । पूर्वी रुकुममा भूमे गाउँपालिका तथा पश्चिममा सानीभेरी गाउँपालिकाका विभिन्न वडाहरुमा USID को सहयोगमा सञ्चालित सुआहारा कार्यक्रम र SNV Nepal को सहयोगमा रुकुमेली समाज विकास केन्द्रले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।

चौरजहारी नगरपालिकामा भने ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फन्डबोर्डको सहयोगमा छिमेकी संगठन नेपाल र ग्रामीण आधारभूत विकास परियोजनाले सरसफाइ कक्षा सञ्चालन गरिरहेको छ ।
खानेपानी नभएका ठाउँहरूमा खानेपानी पु-याउनुका साथै स्वास्थ्य र सरसफाइका कक्षाहरू पनि हरेक टोल–टोलमा भइरहेको छिमेकी संगठन नेपालका टिम लिडर मदन थापाले बताउनुभयो । चौरजहारी–८ की प्रेमकुमारी मल्लले गाउँका सबै घरमा चर्पी बनेको र सरसफाइ कक्षामा सहभागी हुने गरेको बताउनुभयो ।
‘आजभोलि गाउँका घर घरमै जुठ्यान, भाँडा सुकाउने चाङ, धुवाँरहित चुल्हो तथा व्यवस्थित मलखाद तथा गोठ व्यवस्थापन गरिएको छ, हामीले सरसफाइ शिक्षा पाएपछि सरसफाइ प्रतिको चेतना पनि बढेको छ’ प्रेमकुमारीले भन्नुभयो ।
ग्रामीण खानेपानी कोष विकास समितिको सहयोगमा नियो नेपाल र आरबीपीले कार्यक्रम सञ्चालन गरेका रुकुम पश्चिमको चौरजहारी नगर र रुकुम पूर्वको सिस्ने गाउँपालिका र भुमे गाउँपालिकामा यति बेला स्वास्थ्य तथा सरसफाइ कक्षाहरू सञ्चालन भइरहेको ग्रामीण आधारभूत विकास परियोजना रुकुमका अध्यक्ष केशवचन्द्र समालले बताउनुभयो ।
यस्तै पूर्वी रुकुममा भूमे गाउँपालिका तथा पश्चिममा सानीभेरी गाउँपालिकाका विभिन्न वडाहरुमा USAID को सहयोगमा सञ्चालित सुआहारा कार्यक्रम र SNV Nepal को सहयोगमा रुकुमेली समाज विकास केन्द्रले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको सुआहारा कार्यक्रमका सरसफाइ अधिकृत विकास बन्जाराले जानकारी दिनुभयो ।
सुआहारा कार्यक्रमबाट यस क्षेत्रमा पूर्ण सरसफाइ अन्तर्गत स्वस्थ घर सम्बन्धी सूचकको उपसूचक पनि निर्माण गरी लागु गरिएको छ । स्वस्थ घर निर्माणका लागि सरकारले निर्धारण गरेका सूचकका आधारमा आवश्यकता अनुसार उपसूचक समेत निर्माण गरी लागु गरिएको सरसफाइ अधिकृत बन्जाराले जानकारी दिनुभयो ।


1047 पटक हेरिएको 

