कपिलवस्तु : तपाई घुम्दै फिर्दै नेपाल – भारतको सीमाक्षेत्र दसगजामा पुग्नु भयो भने त्यहाँका सीमा स्तम्भहरु फोहोरले पुर्न लागेको अवस्थामा पाउनुहुनेछ । दुवै देशका नागरिकले दशगजा क्षेत्रलाई फोहोर फाल्ने ठाउँका रुपमा प्रयोग गर्दा यसक्षेत्रमा फोहोर थुप्रिएको हो । कपिलवस्तुको कृष्णनगर र भारतको बढनी बजारको सीमाक्षेत्र दसगजा दुवै देशको फोहोर फाल्ने डम्पिङ साइट जस्तै बनेको छ ।
नेपाली पक्षबाट फोहोर सफा गरी व्यवस्थापन गर्ने कुरा बेला बेलामा उठाएपनि भारतीय पक्षले चासो नदेखाउँदा फोहोर झनै बढ्न थालेको समाजसेवी सीताराम गुप्ताले बताउनुभयो । फोहोर व्यवस्थापनमा भारतीय पक्षले चासो नदेखाएको बताएपनि नेपालको तर्फबाट समेत खासै पहल भएको देखिदैन ।
कृष्णनगरमा कृष्णनगर भन्सार, आन्तरिक राजस्व कार्यालय, कृष्णनगर नगरपालिका, कृषि विकास बैंक, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायत सरकारी कार्यालयहरु छन् ।
फोहोरले विश्व समुदायमा नकारात्मक सन्देश
दुई देशको सीमा क्षेत्र कति सुन्दर होला ? भनेर कल्पना गरेर आएका पर्यटक फोहोरको डंगुर हेरेर दुई चार वटा फोटो खिचेर फर्किन्छन् । यसले विश्व समुदायमा भारतको मात्र नभई नेपालको पर्यटन सम्बन्धी विश्व समुदायमा नकारात्मक सन्देश प्रवाह हुने कृष्णनगर नगर विकास समितिका अध्यक्ष कृष्णकुमार गुप्ताले बताउनुभयो ।
‘नेपाल र भारतको सीमाक्षेत्र सुन्दर हुनुपर्ने हो, तर स्थानीय बासिन्दाले फोहोर व्यवस्थापनमा ध्यान नदिंदा फोहोर फाल्ने ठाउँको रुपमा परिणत हुँदै गएको छ’ उहाँले भन्नुभयो ‘यसले तेस्रो मुलुक हुँदै नेपाल आउने र भारत जाने पर्यटकले आफ्नो देशमा कस्तो सन्देश लैजाला ? यसले नेपाल आउने पर्यटकमा कमी आउन सक्छ ।’
वार्षिक अरबौं राजस्व संकलन हुने यो सीमा क्षेत्रबाट दैनिक सयौं सवारीसाधन र हजारांै नागरिक नेपाल –भारत आवातजावत गर्ने गर्छन् । भारतको नयाँ दिल्ली जाने यही नाकाबाट आवातजावत गर्छन् । स्थलमार्गबाट कतिपय पर्यटक यही नाका हुदै नेपाल आउँछन् ।
नगरपालिकासँग फोहोर व्यवस्थापनको योजना छैन
दुई देशको सीमा क्षेत्रमा फोहोर थुप्रिए पनि स्थानीय सरकार भने मुकदर्शक बनेको छ । सीमा क्षेत्रको बजार भएकाले दैनिक सयौँ मेट्रिक टन फोहोर उत्पादन भएपनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने स्थानीय सरकारसँग खासै योजना छैन ।
फोहोर व्यवस्थापनका लागि कृष्णनगर नगरपालिकाले अझै डम्पिङ साइट बनाउन सकेको छैन । नगरपालिकासँग व्यवस्थापनको कुनै योजना नै नभएको कृष्णनगरका सीताराम गुप्ताले बताउनुभयो ।