सिरहा : सिरहाको अर्नमा गाउँपालिका ३ हरकटा टोलका रामउदगार पासमान मोटरसाइकल बिना घर बाहिर निस्कदैनन् । घरमा डिस होम राखेर टेलिभिजन हेर्छन् । चानचुने मोबाइल बोक्दैनन् । कम्तीमा पनि ३० हजार माथिकै मोबाइल छ उनको । तर घरमा चर्पी बनाउने कुरा गरे मुन्टो बटार्छन् ।
मोटरसाइकल किन्न पैसा हुने, हजारौंको मोबाइल बोक्न सक्ने अनि हजारौं पर्ने डिस होम राखेर टेलिभिजन हेर्न सक्ने रामउदगार पासमान भन्छन् ‘चर्पी बनाउने पैसा छैन हजुर !’

रामउदगारको घरमा राखिएको मोटरसाइकल र छानोमा डिस होम , फोटो : पत्रकार देव यादव
चर्पी बनाउन मोटरसाइकलको जत्ति दाम पर्छ ? पासमान भन्छन् ‘मैले यो दाईजोमा पाएको हो, डिस होम पहिले नै थियो, मोबाइल बुबाले पठाएको पैसाले किनेको हुँ ।’
पासमानले तीन महिना अघि मात्र बिहे गरेका हुन् । उनका बुबा कैलास पासमान वैदेशिक रोजगारीका लागि साउदी अरेबिया गएका छन् । अहिले घरमा नव विवाहित श्रीमती, आमा, भाइ बहिनी सहित ६ जनाको परिवार छ ।
पत्रकार देव यादवका अनुसार ६ जनाले नै खुला ठाउँमा दिसापिसाब गर्दै आएका छन् । उहाँ भन्नुहुन्छ ‘रामउदगार पासमानको जस्तो अवस्था तराईका धेरै घरमा रहेको छ, घरमा मोटरसाइकल अनि गाडी समेत हुन्छ, तर घरमा चर्पी हुँदैन, चर्पी बनाउने कुरा गर्दा पैसा छैन, बनाउन सकिएन भन्ने जवाफ मात्र पाइन्छ ।’
सम्पत्तिले सम्पन्न भएपनि चर्पी बनाउन अरुकै मुख ताक्ने बानी र चर्पी बनाएकाले पनि प्रयोग नगरिदिंदा तराईमा सरसफाइ अभियान एकदमै चुनौतीपूर्ण रहेको युम्सकी सामाजिक परिचालक मनिसा कार्कीले बताउनुभयो ।
उहाँका अनुसार समाज जान्ने बुझ्ने वर्गले नै चर्पी बनाउन विभिन्न बहाना बनाउँदा अरुलाई बनाउन लगाउन पनि गाह्रो भइरहेको छ ।


938 पटक हेरिएको 

