दिसाजन्य लेदो व्यवस्थापन किन ?

 1110 पटक हेरिएको

काभ्रे : दिसाजन्य लेदोको विसर्जनका लागि ढल तथा सोक पिट नभएका खासगरी शहरी, अर्ध शहरी र बाक्लो बस्ती भएका समुदायमा दिसाजन्य लेदोको व्यवस्थापन गर्न जरुरी छ । सेफ्टी ट्याङक भरिएपछि त्यहाँ रहेको दिसाजन्य लेदोको उचित र सुरक्षित व्यवस्थापन गर्ने प्राविधिक ज्ञान भएमा दिसाजन्य लेदोका कारण वातावरणमा पर्ने हानिबाट जोगाउन सकिन्छ ।

यही समस्यालाई दृष्टिगत गरी काभ्रेको धुलिखेलमा, ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले बनेपा र धुलिखेल नगरपालिकाका सरसफाइ कार्यकर्ताहरुका लागि दिसाजन्य लेदो व्यवस्थापन’ सम्बन्धी तालिम आयोजना ग-यो ।

 

कोष विकास समितिका प्राविधिक महाशाखा प्रमुख कपिलदेव ज्ञवाली प्रशिक्षक रहनु भएको तालिममा सहभागीहरुलाई दिसाजन्य लेदो व्यवस्थापनका लागि सैद्धान्तिक ज्ञान तथा स्थलगत अभ्यासका माध्यमबाट सेफ्टी ट्याङ्कमा रहेका फिकल कोलिफर्म, सालमोनिला जस्ता दिसाजन्य पदार्थमा रहने हानिकारक जीवाणु लगायत जुकाका फूलहरुलाई हाइड्रेटेड लाइम प्रयोग गरी नष्ट पार्ने विधिको जानकारी दिइएको थियो । 

यस विधिबाट निर्मलीकरण गरी व्यवस्थापन गरिएको दिसाजन्य लेदो हानिकारक जीवाणु तथा परजीवी मुक्त हुने हुँदा त्यसबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्ने नकारात्मक असर उल्लेख्य मात्रामा न्यूनीकरण हुने तालिममा जानकारी गराइएको थियो ।

दिसाजन्य लेदो व्यवस्थापनका लागि अपनाउनु पर्ने सावधानी, आवश्यक पर्ने प्राविधिक ज्ञान तथा सामग्रीहरु, विषयगत विज्ञता र व्यवस्थापनका लागि उपयुक्त जग्गा जमिनको अभावमा यो काम अपेक्षित मात्रामा प्रभावकारी हुन नसकिरहेको सन्दर्भलाई दृष्टिगत गरी तालिमको आयोजना गरिएको थियो ।

 

 

तालिमका सहभागीहरुले सेफ्टी ट्यांक भरिएपछि दिसाजन्य लेदोको व्यवस्थापनमा आफूहरुले भोग्नु परिरहेको समस्याको प्रभावकारी समाधान गर्न यो विधि अत्यन्त प्रभावकारी हुने र यसबाट खुला दिसामुक्त अवस्थाको दिगोपनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

तालिमका सहभागी तथा धुलिखेल नगरपालिकाका कर्मचारी हरि भुजेलले तालिम अत्यन्त उपयोगी र व्यवहारिक भएको बताउँदै भन्नुभयो ‘यस्तो उपयोगी प्रविधिक मैले आजभन्दा पन्ध्र वर्ष अघि नै थाहा पाएको भए फोहोरमैलाको संसर्गबाट धेरैपटक बिरामी हुनबाट बच्ने थिएँ र वातावरण संरक्षणमा पनि मद्दत पुग्ने थियो ।’
तालिमका अन्य सहभागीहरुले पनि यो विधि व्यावहारिक, सस्तो र भरपर्दो भएको हुँदा उपभोक्ताले यसबाट धेरै फाइदा लिन सक्ने बताएका थिए ।

शान्ति जनआदर्श सेवा केन्द्रको संयोजनमा सम्पन्न तालिमको व्यवहारिक अभ्यासका क्रममा सहभागीहरुको स्वास्थ्यलाई ध्यानमा राखी विशेष प्रकारको मास्क, पञ्जा जस्ता आवश्यक उपकरणहरु समेत प्रदान गरिएको थियो ।

तालिममा कोष समितिका कार्यकारी निर्देशक भूपेन्द्र अर्याल, मानव संसाधन तथा कार्यक्रम विकास महाशाखा प्रमुख टीका अधिकारी, शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा लगायत धुलिखेल र बनेपा नगरपालिकाका सम्बन्धित कर्मचारीहरुको समेत सहभागिता थियो ।

 

सञ्जय देवकोटा
कार्यक्रम विकास अधिकृत
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार