काठमाडौ : जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले देशभरिका प्रमुख शहरहरुको प्रदुषण हटाउनका लागि आफू लागिपरेको बताउनुभएको छ । रिपोर्टस क्लव नेपालले गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले धेरै वर्ष लागेर बिग्रिएको काठमाडौको वातावरण एकै रातमा ठीक पार्न नसकिने बताउनुभयो । उहाँले देशभरिका प्रमुख शहरहरुमा एक वर्षभित्रमा माक्स लगाउनु नपर्ने गरी काम शुरु भइसकेको जानकारी दिनुभयो ।
काठमाडौमा धनी, बुद्धीमानी मानिस बसेपनि प्रदुषण भने बढाएको आरोप लगाउँदै मन्त्री पण्डितले भन्नुभयो ‘राम्रा, शिक्षित, धनी सबै काठमाडौमा बस्छन्, तर देखेर सिकेर पनि परिवर्तन हुन सकेन । स्वस्थ नबनेर आयु घटाइरहेका छन् ।’
विकास निर्माणको काम गर्दा धेरै धुलो उड्ने र पुराना तथा डिजेल गाडीले धेरै धुँवा फ्याँक्ने भएकाले यी दुवै कुरा नियन्त्रणका लागि प्रयास शुरु भइसकेको उहाँले जानकारी दिनुभयो । धुलो नियन्त्रणका लागि विकास निर्माणको काम गरिरहेका निकाय सँग समन्वय गर्दै दिनमा चारपटक पानी हालेर धुलो हटाउने काम शुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।
धुवाँधुलो हुनुको ९० प्रतिशत कारण डिजेल बाट चल्ने गाडी भएकाले वैशाख १ गतेदेखि महानगरपालिका र उप–महानगरपालिकामा हरियो स्टिकर नलगाएका गाडीलाई प्रवेश निषेध गरिने उहाँले बताउनुभयो ।
किनेर गलत तरिकाले हरियो स्टिकर लिएर प्रयोग गरेको पाइएा त्यस्तो स्टिकर दिने कर्मचारी र गाडी मालिकलाई समेत कारबाही गरिने उहाँले चेतावनी दिनुभयो । ‘कतिपय उद्योग, जसले धुवाँ फालेका छन, तिनलाई धुवाँधुलो नियन्त्रण गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ‘ उहाँले भन्नुभयो ।
त्यसैगरी प्लाष्टिकका झोला उत्पादन र आयातमा पनि रोक लगाउने मन्त्री पण्डितले बताउनुभयो । माटोमा कुहिने खालका प्लाष्टिक मात्रै प्रयोग गर्न दिईने उनको भनाई छ ।