नुवाकोट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अन्तिम तयारी

नुवाकोट : लामो समयदेखि खुलादिसामुक्त घोषणाका लागि कसरत गरिरहेको नुवाकोट जिल्ला खुला दिसामुक्त घोषणा तयारीको अन्तिम चरणमा पुगेको छ । भूकम्पका कारण थिलथिलो बन्न पुगेको नुवाकोट जिल्लाले २०७४ असोजमै खुला दिसामुक्त घोणणा गर्ने लक्ष्य राखे पनि भूकम्पका कारण खस्किएको सरसफाइको अवस्था, स्थानीय, प्रदेश र संघको चुनाव लगायतका कारणले तोकिएकै समयमा खुला दिसामुक्त घोषणा गर्न नसकेको हो । यद्यपि सन् २०१३ देखिको सरसफाइको अवस्थालाई विश्लेषण गर्दा अहिलेको उपलब्धीलाई सन्तोष मान्न सकिन्छ ।

विक्रम सम्बत २०७० सालमै ४६ प्रतिशत घरधुरीमा चर्पी बनिसकेको नुवाकोटमा २०७२ को प्रारम्भमै ५९ प्रतिशत पुगेको थियो । तर २०७२ सालको भूकम्पले बनेका शौचालयहरुमा क्षति पुग्दा फेरि ४६ प्रतिशतमा झरेर २ वर्ष पछाडिकै अवस्थामा धकेलियो । घरको पुनःनिर्माणसँगै चर्पीहरु पनि बन्ने क्रम शुरु भएपछि सरसफाइको अवस्था विस्तारै उक्लेर सन् २०१६ मा ७५ प्रतिशत, सन् २०१७ जुनमा ९२ प्रतिशत र सन् २०१७ को डिसेम्बरमा करिब ९५ प्रतिशत पुगेको थियो ।

सरसफाइ अभियानमा आएका विविध चुनौतीहरुलाई किनारा लगउँदै अहिले यो जिल्लाको सरसफाइ कभरेज पनि शतप्रतिशत पुगेको छ ।

जम्मा १२ वटा स्थानीय तह रहेको नुवाकोटमा १० वटा गाउँपालिका र २ वटा नगरपालिका छन् । पुरानो संरचना अन्तर्गत ६१ गा.वि.स र १ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तह खुला दिसामुक्त घोषणा भइसकेका छन् ।

जिल्लाका सबै स्थानीय तह खुला दिसामुक्त भएपछि नुवाकोट जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले आगामी २८ गते विहीवारका दिन नुवाकोट जिल्लालाई नै खुलादिसामुक्त घोषणा गर्नका निमित्त प्रस्ताव गरेको छ ।

२०७५ आषाढ १४ गते बसेको जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको वैठकले क्षेत्रीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई जिल्लाको गुणस्तर अनुगमन गर्नका लागि अनुरोध गर्ने निर्णय गरे बमोजिम क्षेत्रीय खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिले पनि भोलि २२ गतेका दिन नुवाकोट जिल्लाको सरसफाइ गुणस्तर अनुगमन गर्न लागेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिज्नल इञ्जिनियर तथा D WASH CC का सदस्य सचिव मोहनलाल जैशीले बताउनुभयो ।

कूल ६६२७२ घरधुरी रहेको नुवाकोटको सरसफाइ अवस्था गुणस्तर अनुगमनमा सन्तोषजनक पाइएमा यसै आर्थिक वर्ष भित्रै खुलादिसामुक्त घोषणा भई पूर्ण सरसफाइको यात्रामा अघि बढ्ने निश्चित भएको छ ।

पहाडी जिल्ला त्यसमा पनि भूकम्पले क्षतविक्षत बनाएको र भौगोलिक विकटता तथा क्षेत्रफलको हिसाबले पनि वृहत नुवाकोट जिल्लालाई खुलादिसामुक्त घोषणा गर्नु त्यति सहज थिएन । यद्यपि जिल्लालाई आजको अवस्थामा ल्याउन जिल्ला स्थित सरकारी निकाय मात्र नभई विभिन्न राष्ट्रिय/अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले समेत साथ दिएका छन् ।

जस अन्तर्गत खानेपानी सरसफाइ डिभिजन कार्यालयले नुवाकोट जिल्लाका साविक ६१ गा.वि.स र १ नगरपालिका मध्ये ११ वटा र तत्कालीन जिल्ला विकास समिति स्वयंले ८ वटा गाउँ विकास समिति खुला दिसामुक्त घोषणा सम्मको सम्पूर्ण जिम्मेवारी लिएका थिए भने बाँकी ४२ गा.वि.स र १ नगरपालिकामा खानेपानी सरसफाइ डिभिजन कार्यालय तथा D- WASH CC को नेतृत्वमा सुआहाराले २ वटा, नेपाल रेडक्रस सोसाइटीले २ वटा, यु.एन्.ह्याविट्याटको सहयोगमा आर.एस.एन र डिकोन नेपालले १७ गा.वि.स र १ नगरपालिका तथा स्ट्यान्डस नेपाल र सूर्योदय सामाजिक क्लवले २० वटा गा.वि.स खुलादिसामुक्त घोषणा गर्ने जिम्मेवारी लिएका थिए ।

यसका साथै नुवाकोट जिल्लाको सरसफाइ अभियानलाई मूर्तता दिनका निमित्त फण्डबोर्ड, ए.सि.एफ, युनिसेफ, सेभ द चिल्डे«न, वल्र्ड भिजन, अक्सफाम, समारिटन पर्स, मर्सीक्रप्स, आर्चीनोभा, डि.एफ्.आ.डी., सिडिसि, एकिकृत तादी विकास, सामाजिक सहायता संस्था, गेर्खुटार यूवा क्लब, कार्डसन, गोरखा वेल्फेयर, केसिडिसी, वल्र्ड रिन्यु लगायतका सरकारी तथा राष्ट्रिय/अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

 

मैत्रेयी शर्मा
जिल्ला संयोजक,

UN HABITAT, GSF Program


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार