बच्चाको स्वास्थ्य र सफाइमा ध्यान दिने आमालाई हरियो ब्याच

काठमाडौ : बच्चाको स्वास्थ्य, सरसफाइ र विशेष हेरचाहमा ध्यान दिने आमालाई हरियो ब्याच वितरण गरिएको छ । बच्चा प्रति आमाले गर्ने ६ वटा व्यवहारको आधारमा नुवाकोटको ककनी गाउँपालिकाको वडा नं. १, २ र ४ का आमाहरुलाई ब्याच वितरण गरिएको हो । शुरुमा रातो ब्याच पाएका आमाहरुले पहेंलो र हरियो ब्याच पाउन थालेका हुन् ।

 

यी हुन् व्याच वितरण गर्नु अघि हेरिने व्यवहारहरु

व्याच वितरण गर्नु अघि आमाको व्यवहारको विश्लेषण गरिन्छ । बच्चालाई खानेपानी उमालेर खुवाएको छ छैन ? खेल्ने ठाउँ र बालबालिका बामे सर्ने ठाउँ आसपासको सफाइ कस्तो छ ? बच्चाको दिसापिसाब सुरक्षित तरिकाले व्यवस्थापन गरिएको छ छैन ? जोखिमपूर्ण अवस्थामा आमाले हात धोएको छ कि छैन ? बच्चालाई दुध खुवाउँदा उमालेर खुवाएको छ छैन साथमा पूरक आहारको व्यवस्था गरिएको छ छैन जस्ता पक्षको विश्लेषण गरिन्छ ।

यसैको आधारमा जुन आमाले १ देखि ३० अंक प्राप्त गर्नुहुन्छ उहाँलाई रातो ब्याच दिइन्छ । यस्तै ३० देखि ७० अंक प्राप्त गर्ने आमालाई पहेंलो र ७० भन्दा बढी अंक प्राप्त गर्ने आमालाई हरियो ब्याच वितरण गरिन्छ ।

एसिएफ र युके एडको आर्थिक सहयोगमा गेर्खुटार युवा क्लवले नमुना कार्यक्रमको रुपमा नुवाकोटको ककनी गाउँपालिकाको वडा नं. १, २ र ४ मा १०० जना आमाहरुलाई लक्षित गरी बेबी वास कार्यक्रम सञ्चालन गरिरहेको गेर्खुटार युवा क्लवकी पब्लिक हेल्थ प्रमोसन अफिसर शैलजा प्याकुरेलले जानकारी दिनुभयो ।

बच्चाको पेटमा दिसा पुग्ने माध्यमहरुको रोकथाम गरी बच्चाको स्वास्थ्यमा सुधार ल्याउन नमुनाको रुपमा बेबी वास कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । बेबी वास कार्यक्रमले दुई बर्षभन्दा कम उमेरका कडा खालको कुपोषित बालबालिका, सामान्य कुपोषित भएका र कुपोषित हुन सक्ने बालबालिकाको पहिचान गरी १०० जना आमा तथा बच्चालाई समेटिएको हो ।

बेबी वास कार्यक्रम सञ्चालन भएपछि बच्चाको स्वास्थ्यमा विशेष सुधार आएको लाभान्वित आमाहरु बताउँछन् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार