पानी जीन्दगानी हो
म सानै हुँदाखेरि देखि
यो शब्द सुन्दै आएँ
अहिले बुझ्दैछु यसको अर्थ
मेरो शरीरमा पनि
दुई तिहाई भन्दाबढी अर्थात ८७ प्रतिशत त पानी मात्रै छ
मेरो स्वास्थ्यका लागि पानी महत्वपूर्ण रहेछ ।
मैंले पिउने गरेको पानी
पिउन लायकको छ की छैन ?
त्यसमा दिसाका किटाणु पो छन् की ?
मलाई यस विषयमा त्यत्ति ज्ञान छैन ।
मैंले सुनेको छु
हामीले हेर्दा सफा र सङ्लो देखिएको पानी
दुषित हुन सक्छ, दिसाका किटाणु हुन सक्छन् ।
हामीलाई लाग्ने रोगहरुमध्ये
झण्डै ८० प्रतिशत रोगहरु त
दुषित पानी र सरसफाइको कमीका कारण लाग्ने रहेछ ।
२४ घण्टाभित्र ३ पटक भन्दा बढी
पानी जस्तो पातलो दिसा भएमा
झडापखाला भन्दा रहेछन्
मलाई पनि वर्षमा २÷४ पटक त
झडापखाला लागेकै हुन्छ ।
त्यस बाहेक
आउँ वा रगतमासी, हैजा, टाइफाइड, जुका,
पोलियो, जण्डिस अनि जिआरडियासिस
यी रोगहरु दुषित पानीका कारण लाग्ने रहेछन् ।
मैंले सफा ठानेर दुषित पानी पो खाएको छु की
कसरी पत्ता लगाउन सकिएला ?
अहिले मनमा केहि कुराहरुले खुल्दुली बनाइ दिएका छन् ।
पहिले यस्ता विषयमा खासै छलफल हुँदैनथ्यो
अहिले त विद्यालयमा पनि
खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी
छलफलहरु हुन थालेका छन्
संघ संस्थाले सिकाउँछन्, सर मिसले पनि भन्नुहुन्छ ।
हामीले सफा होइन
सुरक्षित पानी पिउनु पर्छ ।
मैंले सिकेको यहि हो
यसलाई व्यबहारमा पनि लागु गर्दैछु ।
पानी कसरी सुरक्षित हुन्छ ? भन्नुहोला
शुद्धिकरण गरेको
अथवा
पानीमा भएका रोगका किटाणुहरु नष्ट भएपछि
त्यो पानीलाई सुरक्षित भन्न सकिन्छ
ढुक्कसँग पिउन सक्नुहुन्छ ।
पानी शुद्धिकरण गर्ने चार विधि छन्
उमाल्ने, फिल्टर गर्ने, सोडिस विधि र क्लोरिनेशन ।
पारदर्शी प्लास्टिक बोतलमा हालेर
छानो वा जस्तापाता माथि छड्के पारेर कडा घाममा सुकाएमा
कम्तिमा ६ घण्टापछि त्यो पानी पिउन योग्छ हुन्छ
क्लोरिन झोल अथवा चक्की
मात्रा मिलाएर हालेको कम्तिमा आधा घण्टापछि
त्यो पानीका भएका किटाणुहरु मर्छन्
पानी शुद्ध हुन्छ
सिल्भर कोलाइडल फिल्टरबाट छाने पनि हुन्छ ।
पानी मात्रै सुरक्षित भएर हुँदैन
राख्ने र पिउने भाँडा पनि सफा हुनुपर्छ ।
हामी गाउँले मानिसका लागि
यी विधिहरु अलि खर्चिलो छन् जस्तो लाग्छ ।
मैंले बुझेको छु
सुरक्षित पानी पिएँ भने मात्रै
मलाई पानीजन्य रोगको डर हुँदैन
त्यसैले मैंले एक भल्को उमालेर पिउने गरेको छु ।
पानीको गुणस्तर परीक्षण गरेपछि
हामीले पिउने पानी
कत्तिको सुरक्षित छ भन्ने थाहा पाइन्छ
म सिक्छु अनि अरुलाई सिकाउँछु
पानी परीक्षण गर्ने विधि
अनि त्यहि नतिजा अनुसार अघि बढ्नेछ मेरो परिवार ।
पानीजन्य रोगका कारण
हाम्रो परिवारले
अहिलेसम्म गर्नु परेको खर्चलाई घटाउनु छ ।
सुरक्षित पानी पिएपछि रोग लाग्दैन
अनि उपचारको खर्च घट्ने नैं भयो
रोग लागेपछि उपचार गर्नुभन्दा
रोगको बाटो छेक्नुु नैं बुद्धिमानी हो ।
सुरक्षित पानी पएर रोगको बाटो छेक्छु
किनकी म सचेत छु आफ्नो स्वास्थ्यका बारेमा ।।
विनोद शर्मा ‘सानुभाई’
चौतारा नगरपालिका ४, सिन्धुपाल्चोक
९८४१८५३९९०


2577 पटक हेरिएको 

