ठूलासैनमा १४ महिना लगाएर डिपबोरिङ

अछाम : अछामको मंगलसेन नगरपालिका–६ ठूलासैनमा डिप बोरिङबाट पानी निकालिएको छ । १४ महिनाको लामो प्रयासपछि नेपाल हाइड्रोपावर कम्पनीले ठूलासैनमा पानी निकालिएको हो । कम्पनीले यसका लागि ४ सय फिट गहिराइमा उपकरण जडान गरेको छ । ठूलासैन समुद्री सतहबाट करिब १८ सय मिटर उचाइमा पर्दछ ।

बोरिङ गरेर ३२ एमएमको पाइपबाट पानी निकाल्न सफल भएपछि स्थानीयबासिन्दामा खुसियाली छाएको छ । अग्लो डाँडोमा जमिनबाट पानी निकाल्न सफल भएपछि आफू जीवनमै सबैभन्दा बढी खुसी भएको वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले बताउनुुभयो । स्थानीय नागरिकमा पानी आउँदैन कि ? भन्ने भ्रम सकिएको र यसलाई ब्यवस्थापन गर्दै ठूलासैन र आसपासका नागरिकको खानेपानी अभाव पूर्ति गरिने वडाध्यक्ष भण्डारीले बताउनुुभयो ।

नगरपालिका, वडा कार्यालय, उपभोक्ता समिति र नेपाल हाइड्रोपावर कम्पनीको लामो समयको मेहनत पछि ठूलासैनको युगौं युगदेखिको खानेपानी समस्या समाधान भएको वडाध्यक्ष भण्डारीले बताउनुुभयो । वडाध्यक्ष भण्डारीले भन्नुुभयो ‘तत्कालका लागि पानी निकालिएकै ठाउँबाट अस्थायी रूपमा पाइप जोडेर पानी लिने ब्यवस्था गरिन्छ, लगत्तै रिजर्भ ट्यांकी र वितरण प्रक्रियाका लागि नगरपालिका मार्फत काम सुरु गरिनेछ ।’

पछिल्लो समय पर्यटकीय गन्तब्यका रूपमा विकास हुँदै गइरहेको ठूलासैनमा पानीको समस्या समाधान भएपछि पर्यटकको आगमन बढ्दै जाने देवेन्द्रप्रसाद भण्डारीले बताउनुुभयो । पानी निकाल्नका लागि मंगलसेन नगरपालिकाले ६० लाख रुपैयाँ लगानी गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार