३ सय ६४ विद्यार्थीले सिके स्यानिटरी प्याड बनाउने सीप

पुरुषको पनि बनाए प्याड

सिन्धुपाल्चोक : बालसुधार माध्यामिक विद्यालय दुवाचौरकी कक्षा १० की छात्रा निर्जला श्रेष्ठ (१५) महिनावारी भएकी छैनन् । महिनावारी हुँदाको लागि उनले आवश्यक तयारी भने गरिसकेकी छिन् । उनी विद्यालय आउँदा पनि पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड झोलामा बोकेर आउने तयारीमा छिन् ।

 

‘मैंले जाने अनुसार १० देखि १५ वर्षसम्ममा पहिलो पटक महिनावारी हुने हो । म जहिले पनि जुन बेला पनि महिनावारी हुन सक्ने भएकोले विद्यालय आउँदा पनि पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड बोकेरै आउँछु ।’ निर्जलाले भनिन्, ‘विद्यालयमैं महिनावारी सरसफाइ तथा पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम पाएँ । प्याड बनाउन जानेपछि म महिनावारी व्यबस्थापनका विषयमा अझ सचेत भएकी छु । बजारमा पाइने प्याड किनेर प्रयोग गर्नुभन्दा आफैंले बनाएर प्रयोग गर्दा पैसा पनि बचत हुने र प्याड नष्ट गर्ने समस्या पनि नहुने रहेछ ।’

कक्षा १० की अर्की छात्रा सरु गिरीले पनि पहिलो पटक सेनिटरी प्याड बनाउन सिकिन् । उनलाई महिनावारी हुँदाका लागि सजिलो हुने भएको छ । ‘महिनावारी हुँदा हामी बजारको प्याड किनेर प्रयोग गर्छौं । ६ वटा प्याड भएको एक प्याकेटलाई दुवाचौरमा कम्तिमा ६० रुपैंयाँ पर्छ । किनेको प्याड ४ देखि ६ घण्टाको फरकमा फेर्नै पर्ने हुँदा २४ घण्टा अथवा एक दिनमैं एक प्याकेट सकिने रहेछ ।’ उनले भनिन्, ‘तालिममा सिके अनुसार ४ दिनमा ४ प्याकेट प्रयोग गर्दा खर्च हुने २ सय ४० रुपैंयाँले ४ देखि ६ वटा प्याड बनाउन पुग्ने र तीन वर्षलाई ढुक्क हुने रहेछ । एक महिनामा प्याड किन्दा खर्च हुने पैसाले ३ वर्षसम्मलाई पुर्याउन सकिने भएपछि म त कपडा किनेर घरमैं प्याड बनाएर प्रयोग गर्छु ।’

बतासे मावि तालामाराङकी छात्रा एञ्जल तामाङ (कक्षा १०) पनि आफैंले प्याड बनाएर प्रयोग गर्ने तयारीमा छिन् ।  महिनावारीको विषयमा कक्षा ९ मा पढे पनि विस्तृत छलफल भएको थिएन । महिनावारी र पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने विषयमा विद्यालयमा पहिलो पटक तालिम सञ्चालन भयो । तालिमपछि म आफैं बनाउन सक्ने भएँ ।’ उनले भनिन्, ‘यसअघि महिनावारी हुँदा बजारमा पाइने प्याड किनेर वा घरमा भएका कपडाको टालो बनाएर प्रयोग गर्ने गरेकी थिएँ । अब फलाटिन वा सुतिको कपडाबाट प्याड बनाएर प्रयोग गर्छु र अरुलाई पनि सिकाउँछु ।’

कक्षा ९ का छात्र बुद्ध तामाङले पनि कपडा काटेर सिलाएर प्याड बनाए । प्याड बनाउने तालिम अत्यन्तै उपयोगी भएको उनको अनुभव छ । ‘बजारमा पाइने प्याड स्वास्थ्यका हिसाबले पनि राम्रो नहुने रहेछ । खर्चिलो हुने, चाहिएको बेला नपाइने, एक पटक मात्रै प्रयोग गर्न मिल्ने र त्यसको व्यबस्थापन गर्न पनि कठिन हुने रहेछ ।’ उनले भने, ‘घरमैं उपलब्ध हुने कपडाबाट प्याड बनाउँदा पुनः प्रयोग गर्न मिल्ने, कम खर्चिलो हुने र एउटा प्याड राम्रोसँग प्रयोग गरे ३/४ वर्षसम्म प्रयोग गर्न मिल्दो रहेछ । प्याड बनाउने तालिम त छात्राले मात्रै नभएर सबै छात्रले लिनु पर्ने रहेछ । अनि मात्रै महिनावारी भएका बेला महिलाले पुरुषको साथ र सहयोग पाउँछन् ।’

जागेश्वरी आधारभुत विद्यालयका विवेक तामाङ (कक्षा ८) ले महिनावारी महिलाको मात्रै सवाल नभएर पुरुषको पनि सवाल रहेछ भन्ने महशुस गरेका छन् । ‘महिनावारी भएको बेलामा हामीले पनि महिलालाई सहयोग गर्नु पर्ने रहेछ । विद्यालयमा पनि जगेडा सेनिटरी प्याड राख्ने र अप्ठ्यारो परेको साथीलाई उपलब्ध गराउनु पर्ने रहेछ ।’ विवेक भन्छन्, ‘म पनि सेनिटरी प्याड बनाउन सक्ने भएको छु । यो कुरा आमा, दिदी, भाउजुलाई पनि सिकाउँछु ।’

ऐश्वर्या तामाङ (कक्षा ८) अब साथीहरु महिनावारी भएका बेला पनि विद्यालय नियमित हुन्छन् भन्नेमा ढुक्क छिन् । ‘विद्यालय आएपछि महिनावारी भएका साथीहरु घरमा कोही छैनन् गोठमा जानु पर्नेछ भनेर घर जाने गरेका थिए । भोली पर्सीपल्ट मात्रै महिनावारी भएको र घर गएको भन्ने गर्थे ।

आफुसँग पैसा नभएको र बाबा आमासँग प्याड किन्ने पैसा माग्न नसकेका कारण उनीहरुले यसो गरेका होलान् जस्तो लाग्छ ।’ उनले भनिन्, ‘पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन सिकेपछि साथीहरुले पनि कपडा किनेर प्याड बनाउँछन् । अनि विद्यालय आउँदा झोलामा प्याड बोकेर आउँछन् । जसले गर्दा पढाइ छुट्न पाउँदैन ।’

महिनावारीका विषयमा विद्यार्थी तथा शिक्षकमा रहेको संकोच तथा लाजलाई यस किसिमको तालिमले कम गराएको बतासे माविका प्रधानाध्यापक ज्यामबहादुर तामाङको भनाइ छ । ‘एक त प्याड पाउने बजार पनि टाढा छ । अर्को कुरा आर्थिक अवस्था पनि कमजोर भएकोले सधैं प्याड किनेरै प्रयोग गर्न सक्ने सम्भावना छैन ।’ उनले भने, ‘बजारबाट कपडा ल्याएर प्याड बनाएर प्रयोग गर्दा आर्थिक भार कम पर्ने, स्वास्थ्यलाई फाइदा हुने र नष्ट गर्ने समस्या नहुने भएकोले यस किसिमको तालिम प्रभावकारी लाग्यो । अब छात्राहरुले महिनावारी हुने दिन नजिकै आएपछि प्याड बोकेरै विद्यालय आउनेछन् भन्ने मलाइ लाग्छ ।’

सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले मेलम्ची नगरपालिकाका ४ र हेलम्बु गाउँपालिकाका ४ गरी ८ ४ वटा विद्यालयका ३ सय ६४ छात्र छात्रालाई महिनावारी सरसफाइ र प्याड बनाउने तालिम दिएको छ । भूकम्प प्रभावित विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धनसँगै विद्यार्थीलाई प्याड बनाउने सीप सिकाइएको कार्यक्रम अधिकृत विनोद शर्माले बताए । ‘महिनावारीका बेला गर्नु पर्ने सरसफाइका बारेमा छात्र छात्रालाई सचेत गराउनुका साथै पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड बनाउने सीप दिइएको छ ।

अहिलेसम्म ८ वटा विद्यालय (बतासे, तेर्से, बाल सुधार, महेन्द्र, गोल्मादेवी र जय वागेश्वरी मावि तथा पञ्चकन्या र जागेश्वरी आधारभुत विद्यालय) का ७४ छात्र र २ सय ९० छात्रासहित ३ सय ६४ जनालाई यो सीप सिकाएका छौं ।’ शर्माले भने, ‘बजारमा पाइने प्याड खर्चालु हुने, एक पटक मात्रै प्रयोग गर्न मिल्ने हुन्छ भने ग्रामीण भेगमा सहज उपलब्ध पनि हुँदैन । अर्कोतिर बजारीया प्याडमा प्रयोग हुने रासायनिक तत्वले महिलाको स्वास्थ्य र वातावरणमा समेत नकारात्मक असर पर्न सक्ने भएकोले कपडाबाट प्याड बनाउन सिकाइएको हो ।’

मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका ३२ विद्यालयमा काम गरिरहेको संस्थाले कक्षा ६ भन्दा माथि पढाई हुने आधारभुत र माध्यामिक विद्यालय गरी कार्यक्षेत्रका १५ विद्यालयमा प्याड बनाउन सिकाउने योजना रहेको उनले बताए ।

‘कारितास स्विटजरल्याण्ड र हेल्भेटासको आर्थिक सहयोगमा सञ्चालित विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन कार्यक्रम अन्तर्गत महिनावारी हुने उमेरका छात्राको महिनावारी व्यबस्थापनको कुरालाई मध्यनजर गरेर प्याड बनाउने तालिम दिन सुरु गरिएको हो । विद्यालयलाई महिनावारी मैत्री बनाउने लक्ष्य सहित सुरु भएको तालिमसँगै महिनावारी व्यबस्थापन समिति समेत गठन भएका छन् ।’ उनले भने ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार