चितवनका १० वटा पानी उद्योगमा शिलबन्दी

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले चितवनका १० वटा पानी उद्योगमा शिलबन्दी गरेको छ । स्वचालित मेशिन जडान नगरेका १० उद्योगमा शिलबन्दी गरेको चितवन जिल्ला प्रशासन कार्यालयमा रहेको खाद्य निरीक्षण इकाईका प्रमुख प्रविनकुमार तिवारीले बताउनुुभयो ।

पूर्वी चितवन र भरतपुर क्षेत्रका १५ वटा उद्योगमा अनुगमन गर्दा दुई वटाले मात्रै स्वचालित मेशिन भेटिएको खाद्य निरीक्षक तिवारीले बताउनुुभयो । चितवनमा १७ वटा पानी उद्योगले पानी उत्पादन गर्दै आएका छन् ।

पिउने पानी उत्पादन मापदण्ड निर्देशिका जारी गरी पिउने पानी उत्पादन गर्दा अनिवार्य रुपमा स्वचालित मेशिनबाट बोतल सफा गर्नुुपर्ने, पानी भर्ने तथा बिर्को लगाउने र लेबलिङको काम गर्नुपर्ने उल्लेख छ । सरकारले सरकारले गत असोज २६ निर्देशिका जारी गरेको थियो ।

निर्देशिकाले ६ महिनाभित्र सबै उद्योगहरुले स्वचालित मेशिन राख्नुपर्ने नभए उद्योग बन्द गर्नु पर्ने भनिएको थियो । तर अहिलेसम्म पनि स्वचालित मेशिन राखेका छैनन् ।

प्रशासनले एक्कासी उद्योग बन्द गर्दा समस्या परेको रत्ननगरको माउन्टेन ड्रप पानी उत्पादन गर्ने उद्योगका सञ्चालक शम्भु खनालले भन्नुुभयो । एक करोड रुपैयाँको लागतमा उद्योग स्थापना भएर राम्रोसँग चल्न नपाउँदै नयाँ मापदण्ड आएकाले थप लगानीका लागि समय लागेको सञ्चालक खनालले बताउनुुभयो ।

स्वचालित मेशिन राखेर पानी उत्पादन गरेपछि र त्यो उत्पादित पानी क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट परीक्षण गर्दा भएर गुणस्तरीय ठहर भएमा मात्र उद्योगको अनुमतिपत्र नविकरण हुने खाद्य निरीक्षक तिवारीले बताउनुुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार