बाल्टिन बोकेका महिलाले खानेपानी कार्यालय घेरे

सिरहा : महिना दिनदेखि धारामा पानी नआएपछि लहान नगरपालिकाका वडा नम्बर ५ र ६ का महिलाले लहानको खानेपानी संस्थान कार्यालय घेराउ गरेका छन् ।

पहिला बिहान ३ घण्टा र साँझ साढे ३ घण्टा पानी उपलब्ध गराउँदै आएको संस्थानले मुश्किलले डेढ घण्टा मात्र पानी दिएपछि रीसले आगो भएका महिलाले कार्यालय घेराउ गरेका हुन् ।

पानी नहुँदा खाना पकाउने देखि भाडा वर्तन, कपडा धुन र पिउने पानीको अभाव भएपछि बाध्य भएर बाल्टिन बोकेर घेराउ गर्न आएको कृष्णमाया नेपालीले बताउनुुभयो । कार्यालय घेराउ गर्न आएका महिलाहरुले हात हातमा खाली बाल्टिन बोकेका थिए ।
संस्थानको ३ वटा वेल मध्ये एउटा वेलले बालुवा मिसिएको पानी फाल्न थालेपछि एक महिनादेखि आपूर्तिमा कटौती गरी दैनिक विहान ६ देखि साढे ७ र बेलुकी ६ देखि ७ बजेसम्म मात्रै पानी वितरण गरिरहेको कार्यालय प्रमुख इन्जिनियर विनोद मिश्रले जानकारी दिनुुभयो ।

उपभोक्ताको धारामा पानी नआएपनि न्यूनतम मासिक १ सय १० रुपैयाँ महशुल तिरिरहनुुपरेको छ । नगर क्षेत्रमा ३ हजार घरधुरी ग्राहक छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार