अर्थ समितिमा खानेपानी मन्त्री : ठेकेदार भागेपनि नेपाललाई घाटा लाग्दैन

काठमाडौ : खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी सिएमसीले काम छोडेर भागेपनि बाँकी काम सरकार आफैले गर्न सक्ने बताउनुभएको छ ।प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा विहीबार खानेपानीमन्त्री मगरले सिएमसीले काम छाडेर भागेपनि नेपाल सरकारलाई घाटा नलाग्ने दाबी गर्नुभएको हो ।

निर्माण सम्पन्न नगरेको अवस्थामा निर्माण कम्पनी विरुद्ध सिंगापुरको उच्च अदालतमा लड्न सक्ने अधिकार सरकारसँग सुरक्षित रहेको पनि उहाँले उल्लेख गर्नुभयो । सरकारले भुक्तानी दिने सम्बन्धमा भने निर्माण सम्पन्न तथा रोकिएको काम सुचारु गर्ने सम्बन्धमा केही शर्त राखेको उहाँले उल्लेख गर्नुभयो ।

ठेकेदार कम्पनीले १ अर्ब ६५ करोडको दाबी गरेपनि सरकारले अब ३४ करोड मात्रै भुक्तानी गर्न बाँकी रहेको भन्दै उहाँले काम छोडेर भागेपनि नेपाललाई घाटा नपर्ने दाबी गर्नुभयो ।

मन्त्री मगरले आयोजनाको बाँकी कामहरु ठेकेदार कम्पनी स्वयंले नभई सहयोगी कम्पनी मार्फत भईरहेको र ती कम्पनी सरकारसँगको सिधा सम्पर्कमा रहेकाले बाँकी काम तीनै सहयोगी कम्पनी मार्फत गर्न सकिने दाबी पनि गर्नुभयो ।

काठमाडौबासीले मेलम्चीको पानी पर्खिरहेका बेला निर्माणको ठेक्का लिएको कम्पनी नै काम छोडेर भागेको खबर आएपछि समितिले त्यसबारे चासो राख्दै सम्बन्धित मन्त्रीलाई छलफलमा बोलाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार