ललितपुर : वर्षौदेखि रहेको खानेपानीको समस्या समाधानका लागि महालक्ष्मी नगरपालिकाले नगरपालिका र आसपासका नगरपालिकामा रहेका पानीको स्रोतको खोजी शुरु गरेको छ ।
खानेपानीको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन दुबै समाधानको खोजी भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र रहेका स्रोतको परिचालन र सुधारलाई जोड दिइएको उपप्रमुख निर्मला थापाले बताउनुभयो । अल्पकालीन योजनामा विभिन्न स्थानमा डिप बोरिङ र आकाशे पानी सङ्कलन गरेर पानी निकाल्न लागिएको छ ।
दीर्घकालीन योजनामा दोस्रो चरणको मेलम्चीका लागि सरकारसँग अनुरोध भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले धेरै नगरवासीले खानेपानीको समस्या चाँडो समाधान होस् भन्ने चाहेका छन् ।”
नगरपालिकाभित्रै पर्ने सिंहऋषि मुहानमा रहेको पानीको स्रोतको विस्तृत परियोजना अध्ययन (डिपिआर) भइसकेको नगरपालिकाले जनाएको छ । लाँकुरीभञ्ज्याङमा रहेको स्रोतका लागि प्रदेश र सङ्घ दुबैले बजेट विनियोजन गरेका छन् ।
नगरपालिकाले ग्वालिन दह र चापाखर्कमा रहेका पानीको स्रोत सुधारका लागि बजेट छुट्टाएको छ । उहाँले भन्नुभयो, “नगरवासीको अपेक्षा अनुसार हामीले नगरपालिकाबाट गर्ने काममा खानेपानीलाई बढी जोड दिएका छौँ ।”
महालक्ष्मी नगरपालिकाका धेरै वडामा खानेपानीको समस्या छ । नगरपालिकाभित्र भएका स्रोत पर्याप्त नभएको र भएका स्रोत समेत सुधार गर्नुपर्ने अवस्थामा भएकाले नगरवासीले खानेपानी अभाव झेल्दै आएका छन् ।