ओडिएफ बारे मुख्यमन्त्रीको १६ मिनेट लामो त्यो मार्मिक भाषण

काठमाडौ : गत शुक्रबार वीरगञ्जमा आयोजित खुल्ला दिसामुक्त अभियान सम्बन्धी अन्तरक्रियामा मुख्यमन्त्री लालबाबु राउतले गर्नुभएको भाषणले निक्कै चर्चा पायो । उहाँले प्रदेश नं २ खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन नसकेकोमा आफू निक्कै लज्जित भएको बताउनुभएको थियो । उक्त भाषण अनलाइन न्यूज पोर्टलहरुका लागि शीर्ष समाचार बने ।

तर मुख्यमन्त्री राउतले त्यत्ति मात्र भन्नुभएको थियो त त्यो भाषणमा ? होइन, उहाँले धेरै मार्मिक कुरा गर्नुभएको थियो । १६ मिनेट लामो उक्त भाषणमा उहाँले कुनै राजनीतिक कुरा नगरी खुला दिसामुक्त घोषणाको सेरोफेरोमा मात्र बिषय केन्द्रित गर्नुभएको थियो ।

हेरौं १६ मिनेट लामो भाषणमा उहाँले के के भन्नुभएको थियो ?

‘घरमा ट्याक्टर राखेको छ, ठूला ठूला कुरा गर्न जानेको छ, तर चर्पी बनाएर दिसा गर्न जानेको छैन ।’ उहाँले भन्नुभएको थियो । जमिन नभए प्रदेश सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘म विश्वास दिलाउन चाहन्छु कि प्रदेश २ सरकारको तर्फबाट, मुख्यमन्त्री स्वच्छता अभियानको तर्फबाट प्रदेश २ का ८ वटै जिल्लामा मैले उपस्थिति देखाउनुपर्छ कि ? के गर्दा पूरै प्रदेशका जिल्ला, पूरै गाउँपालिका ओडिएफ हुन्छ ? मलाई बोलाउनुहोस, म कहाँ गएर के भन्दा हुन्छ । म तपाईहरुसँग हिड्न तयार छु ।’ उहाँको बाचा थियो ।

उहाँले सरसफाइ अभियान सञ्चालन गरिरहेका संघसंस्थाले संकलन गरेको शौचालय नभएको घरको तथ्याङ्क र खर्चको विवरण आफूलाई उपलब्ध गराउन आग्रह गर्दै हातमुख जोर्नै समस्या भएको परिवारलाई चर्पी बनाईदिने घोषणा गर्नुभएको थियो ।

‘के गर्नुपर्छ ? म तयार छु । मलाई लिष्ट दिनुहोस् । प्रदेश सरकारबाट यत्ति रकम पाउँ भनेर, कमसेकम सभ्य र शिक्षित समाजका लागि आ –आफ्नो घरमा शौचालय हुनैपर्छ । हामीले सचेतना अभियान पनि सन्चालन गरौं । आवश्यकता छ भने शौचालय पनि बनाईदिऔं, यो मेरो अनुरोध हो ।’ मुख्यमन्त्री राउतले अनुरोध गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार