उपमेयर कोसेली कार्यक्रम : स्वच्छ महिनावारी अभियान

प्युठान : प्युठानको स्वर्गद्वारी नगरपालिकाले चालू आर्थिक बर्षमा ‘उपमेयर कोसेली कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । नगरक्षेत्रभित्रका गरिब, विपन्न, पिछडिएका तथा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने महिला, गर्भवती तथा सुत्केरी महिलालाई सहयोग पुर्‍याउने उद्देश्यले ‘उपमेयर कोसेली कार्यक्रम’ सञ्चालन गर्न लागेको हो ।

‘उपमेयर कोसेली कार्यक्रम’ अन्तर्गत सुत्केरी महिलालाई झोला उपहार, स्वच्छ महिनावारी अभियान, छोरीको सुनौलो भविष्यका लागि आमा शिक्षा कार्यक्रम तथा छोरीहरूको हितका लागि पाँच बिरुवा उपहार लगायत समेटिएका छन् ।

‘उपमेयर कोसेली कार्यक्रम’ सञ्चालका लागि नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ मा २० लाख रुपैयाँ विनियोजन गरेको छ । स्पष्ट मापदण्ड र कार्यविधि बनाएर कार्याक्रम कार्यान्वयन गरिने उपमेयर गोमा रेग्मीले बताउनुभयो ।

महिनावारी भएको अवस्थामा महिलाले ख्याल नगर्दा धेरै समस्या आईपर्नुका साथै, रोगले पनि आक्रमण गरेको हुनाले उपमेयर कोसेली कार्यक्रम अन्तर्गत स्वच्छ महिनावारी अभियान सञ्चालन गरिने उपमेयर रेग्मीले बताउनुभयो । महिनावारीको समयमा सरसफाइको कमीले गर्दा महिलाहरूलाई रोग लाग्न नदिनका लागि यो अभियान अगाडि बढाएको उहाँले बताउनुभयो ।

 

सुत्केरी महिलालाई झोला उपहार

नगरपालिकाले ‘उपमेयर कोसेली कार्यक्रम’ मार्फत स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई झोला उपहार दिने भएको छ । झोलासँगै सुत्केरी महिलालाई व्यक्तिगत सरसफाइ सामग्री, पोषणयुक्त खानेकुरा उपलब्ध गराउने उपमेयर रेग्मीले बताउनुभयो ।

उनीहरूलाई सुत्केरी भएको तीन र सात दिनमा स्वास्थ्य संस्थामा नियमित जाँच गराएमा उपहार दिइने व्यवस्था मिलाएका उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रमा सर्वेक्षण गर्दा सुत्केरी महिलाहरूले प्रशस्त मात्रामा पोषणयुक्त खानेकुरा नखाएको र व्यक्तिगत सरसफाइ नगरेको समस्या पाइएकाले यो कार्यक्रम अगाडि सारिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार