स्यानिटरी प्याडले कक्षाकोठा सधैं टनाटन

 

लम्जुङ : केही बर्ष अघिसम्म विद्यालयमा स्यानिटरी प्याडको सुविधा नहुँदा विद्यालयका छात्रा महिनावारी भएको बेला विद्यालय नियमित हुँदैनथे । महिनावारी भएको दिनदेखि ४/५ दिनसम्म घरमै बस्ने गर्थे ।

अहिले त्यस्तो अवस्था छैन । अधिकांश सामुदायिक विद्यालयले छात्रालाई विद्यालयमा नियमित गराउन स्यानिटरी प्याडको व्यवस्था गरेको छ । केहि विद्यालयले आन्तरिक स्रोतबाट र केहीले विभिन्न संघसंस्थाको सहयोगमा स्यानिटरी प्याडको व्यवस्था गरेको छ । जसका कारण छात्रा नियमित विद्यालय आउन थालेका छन् । सुन्दरबजार नगरपालिका ५ खहरेस्थित विद्याज्योति माविले विद्यालयमा आउने छात्राका लागि महिनावारीको समयमा प्रयोग गर्न स्यानिटरी प्याडको व्यवस्था गरेको छ ।

विद्यालयका शिक्षक हस्तबहादुर गुरुङका अनुसार उक्त सेनेटरी प्याड एक महिला शिक्षकसंग मागेर छात्राले प्रयोग गर्न सक्छन् । महिनावारी भएका छात्राले महिला शिक्षिकालाई भन्ने र स्यानिटरी प्याड प्रयोग गर्ने गरेका छन् । स्यानिटरी प्याडको व्यवस्था भएपछि छात्रा नियमित विद्यालय आउने गरेको उहाँले बताउनुभयो । ‘केहीबर्ष अघिसम्म छात्रा महिनावारी हुने वित्तिमै विद्यालय छाडेर जाने गथ्र्यो । दुखाई र लाजले पनि कोही त एक हप्तासम्म आउने थिएन’ उहाँले भन्नुभयो, ‘अहिले विद्यालयमा पर्याप्त स्यानिटरी प्याड राखेका छौं । कुनै पनि विद्यार्थी महिनावारी भएको समयमा विद्यालय नआउने गरेको छैन । नियमित विद्यालय आउने र अध्ययन गर्ने गरेका छन् ।’

क्व्होलासोंथर गाउँपालिका १ बाग्लुङपानीस्थित जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक बिलप्रसाद गुरुङका अनुसार विद्यालयले छात्रालाई सहज वातावरणमा अध्ययन गराउन प्याडको सुविधा दिएको छ । छात्रा विद्यार्थीका लागि गुनासो सुन्ने शिक्षिका तोकिएको छ ।

कुनै पनि समस्या पर्दा छात्राले गुनासो शिक्षिक र अन्य शिक्षकलाई भन्ने गरेका छन् । ‘बर्षभरी धेरै अनुपस्थित हुने भनेको छात्रा थिए । बुझ्दा महिनावारीका कारण हो भन्ने थाहा पाइयो । महिनावारीको समयमा विद्यालय नआउँदा छात्राको पढाई प्रभावित भयो’ उहाँले भन्नुभयो, ‘छात्रा विद्यार्थीलाई नियमित गराउन प्याडको व्यवस्था गरेका छौं । अहिले विद्यालयका छात्रा नियमित विद्यालय आउँछन् । आफ्ना समस्या राख्छन् । उनीहरुको पढाईमा पनि राम्रो हुँदै गएको छ ।’

कक्षा ९ की रेश्मा गुरुङले विद्यालयमा प्याडको व्यवस्था भएपछि पढाईमा सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘महिना आएको थाहा हुन्छ । कहिले हुन्छ थाहा हुँदैन । स्कुल छोडेर जानुपर्ने बाध्यता टरेको छ ।’ विद्यालयमै सेनेटरी प्याडको सुविधा भएपछि पहिलो पटक महिनावारी हुनेलाई झन् सहजता थपिएको उहाँले बताउनुभयो ।

बेंसीसहर नगरपालिका ७, चण्डीडाँडास्थित जनविकास माविका प्रधानाध्यापक खिला शर्मा धितालका अनुसार गैरसरकारी संघसंस्थाको सहयोगमा छात्राका लागि स्यानिटरी प्याड राखिएको छ । उहाँले भन्नुभयो ‘हामीले आफैं व्यवस्था गर्न सकेका छैनौं । जिल्लास्थित विभिन्न संघसंस्थाले सहयोग गरेको छ । सहयोगबाट आएको स्यानिटरी प्याड छात्राले प्रयोग गरेका छन् । यसले गर्दा छात्रा नियमित रुपमा विद्यालय आएका छन् ।’

शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख बीरबहादुर गुरुङका अनुसार छात्रा विद्यार्थीलाई विद्यालयमा नियमित गराउन सामुदायिक विद्यालयमा प्याडको व्यवस्था गरिएको छ । जिल्लाका अधिकांश सामुदायिक विद्यालयले यो अभ्यास गरेको उहाँले बताउनुभयो । निजीमा पनि प्याडको व्यवस्था छ । उहाँले भन्नुभयो–‘महिनावारी कै कारण छात्रा विद्यालय नआउने कुरा अहिले न्यून छ । अधिकांश विद्यालयले आफैं वा संघसंस्थाको सहयोगमा सेनेटरी प्याडको व्यवस्था गरेका छन् । यो सुविधाले छात्रा नियमित आएर सहज वातावरणमा अध्ययन गरेको पाइएको छ ।’

जिल्लाका सामुदायिक विद्यालयलाई स्वास्थ्य चौकी, सरकारी तथा गैरसरकारी संस्थाले स्यानिटरी प्याडका लागि सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार