सेनिटरी प्याड वितरणको लागि सरकारले साझा कोष खडा गर्ने

काठमाडौ: सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई सेनिटरी प्याड वितरणको लागि आर्थिक व्यवस्था गर्न साझा कोष खडा गर्ने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूका लागि सेनिटरी प्याडको व्यवस्था गर्न सरकारले विनियोजन गरिएको रकमसँगै अन्य क्षेत्रको रकम समेत एकत्रित गरी परिचालन गर्न कोष खडा गर्न लागेको हो । चालु आर्थिक बर्षमा सरकारले सेनिटरी प्याडको व्यवस्था गर्न १ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा स्थापना गरिने साझा कोषमा व्यवसायिक प्रतिष्ठान तथा संघ संगठनहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व वापतको रकम जम्मा गरिने, यस्तै विभिन्न विकास साझेदारहरू एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई समेत साझा कोषमा रकम जम्मा गर्न आव्हान गरिनेछ ।
साझा कोषमा जम्मा हुने रकमको क्षेत्र

  • व्यवसायिक प्रतिष्ठान तथा संघसंगठनहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व वापतको रकम यस कोषमा जम्मा गर्न आव्हान गर्ने ।
  • विभिन्न विकास साझेदारहरू एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई पनि यस कोषमा रकम जम्मा गर्न आव्हान गर्ने ।
  • यस कोषमा रहेको रकमका अतिरिक्त सेनिटरी प्याड वितरणको लागि आवश्यक पर्ने बजेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थमन्त्रालय सँग समन्वय गरी स्थानीय तहलाई उपलब्ध गराउने ।

सरकारले आगामी कार्तिक १ गतेदेखि विशेष कार्यक्रम गरी सेनिटरी प्याड वितरणको काम थालनी गर्न सबै स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार