लागु भएन सामुदायिक विद्यालयमा प्याड वितरण कार्यक्रम

 

काठमाडौै : सरकारले सामुदायिक विद्यालयका छात्राहरुलाई यही कात्तिक १ गते देखि विशेष कार्यक्रम गरी निशुल्क प्याड वितरण गर्ने कार्यक्रम सुरुवात गर्न गरिएको परिपत्र लागु हुन सकेन । सरकारले स्थानीय तहमा तयारी विनै प्याड वितरण गर्न परिपत्र मात्र गर्दा स्थानीय तहले प्याड वितरणको काम सुरुवात गर्न नसकेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही कात्तिक १ गतेदेखि सबै स्थानीय तहले सामुदायिक विद्यालयमा निशुल्क प्याड वितरण कार्यक्रम अनिवार्य लागु गर्न परिपत्र गरेको थियो । प्रधानमन्त्री कार्यालयको निर्णय समेत संलग्न राखी यही असोज १० गते गरिएको परिपत्रमा स्थानीय तहमा विशेष कार्यक्रमको आयोजना गरी कार्यक्रम सुरुवात गर्न भनिएको थियो । तर दशैं तिहार तथा छठका कारण सामुदायिक विद्यालय बन्द भएको, प्याड वितरणको लागि रकम निकासा नभएको, प्याड किन्नका लागि त्यस सम्बन्धी मापदण्ड प्राप्त नभएको जस्ता कारण देखाउँदै स्थानीय तहले उक्त कार्यक्रम कार्यान्वयन गरेका छैनन् ।

सरकारले आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्ने नीति ल्याएको थियो । सरकारले बजेट भाषण मार्फत चालु आर्थिक बर्षमा देशभरमा करिब २० हजार सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि स्यानिटरी प्याडको व्यवस्था गर्न १ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

यो बजेट हरेक सामुदायिक विद्यालयका लागि ४० हजार रुपैयाँ रकम हो । यसबाट कक्षा ५ भन्दा माथिका महिनावारी हुने उमेरका करिब १४ लाख छात्राहरु लाभान्वित हुनेछन् । तर यो रकम अपुग हुने विज्ञहरुले बताउँदै आएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार