चालु आर्थिक बर्षमा थप ६९ हजार उपभोक्ता खानेपानीबाट लाभान्वित

 

काठमाडौ : सरकारले चालु आर्थिक वर्षको पहिलो चार महिनामा थप ६९ हजार उपभोक्तालाई खानेपानी सेवा उपलब्ध गराएको छ । निर्माणाधीन उच्च/मध्यमस्तरका खानेपानी आयोजना सम्पन्न गरी खानेपानी सेवा प्रदान गर्दा खानेपानीबाट लाभान्वित भएका हुन् । चालु आर्थिक बर्षको पहिलो चार महिनाको अवधिमा सात वटा उच्च र मध्यमस्तरको खानेपानी आयोजना सम्पन्न भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

खानेपानीको पहुँच विस्तारसँगै घरघरमा खानेपानी पुर्‍याउने मन्त्रालयको योजना छ । अहिले झण्डै २२ प्रतिशत घरमा व्यक्तिगत धारा रहेको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । तीन वर्षभित्रमा एक घर एक धारा पुर्‍याउने लक्ष्य लिइएको शाक्यले बताउनुभयो। सरकार र दातृ निकायको सहयोगमा निर्माणाधीन ठूला लगानीका खानेपानी आयोजना सम्पन्न भएपछि खानेपानी सेवा विस्तार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

गत आर्थिक बर्षको अन्त्य सम्ममा खानेपानीको पहुँच ८९ दशमलव १ प्रतिशत थियो । अहिले करिब ९२ प्रतिशत जनतामा खानेपानीको आधारभूत सुविधा पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार आगामी तीन वर्षमा खानेपानीको पहुँच शतप्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ । सरकारले निर्माण गरिरहेका ठूला र मध्यमस्तरका आयोजना समयमै सम्पन्न हुँदा खानेपानीको पहुँच विस्तारमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

खानेपानीको पहुँच विस्तारका लागि सरकारले तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना, जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना, खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम, शहरी खानेपानी व्यवस्थापन सुधार आयोजना कार्यान्वयन गरिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार