वाह ! ९ महिनामै यत्ति धेरै काम ?

 1330 पटक हेरिएको

 

सिन्धुपाल्चोक : २०७५ फागुन १५ गतेको दिन । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सञ्चालित जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको बैठक हुँदै थियो । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङ, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख नन्दलाल बञ्जाडे, उपप्रमुख एवं इञ्जिनियर मोहन रेग्मी, उपभोक्ता समितिका पदाधिकारीहरु सम्मिलित बैठकमा निर्माण कम्पनी सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर सचिनकुमार मिश्र असार मसान्त सम्ममा ६० प्रतिशत भौतिक प्रगति हुने दाबी गर्दै हुनुहुन्थ्यो ।

खानेपानी आयोजना निर्माणको काम भर्खरै सुरुवात भएको थियो भने उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीलाई टिमभित्रैबाट असहयोग गर्नेहरु पनि थिए ।

प्रोजेक्ट म्यानेजर मिश्रले खानेपानीको भौतिक प्रगति ६० प्रतिशत पुर्‍याउने दाबी गरेपनि त्यत्तिन्जेलसम्म खानेपानीको मुख्य बिन्दु (लिफ्टिङ गर्ने) स्थानसम्म पुग्ने पहुँच मार्ग कसले बनाउने भन्ने समेत टुङ्गो थिएन । अन्ततः सोही बैठकले पहुँचमार्ग निर्माण गर्न उपभोक्ता समितिले नगरपालिकासँग माग गरेपनि नगरपालिकाले बजेट अभाव भएको दर्शाएपछि पहुँच मार्ग निर्माणका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई माग गर्ने निर्णय गर्‍यो ।

 

खानेपानीको मुहानसम्म पुग्ने पहुँच मार्ग समेत नभएको अवस्थामा प्रोजेक्ट म्यानेजरले गरेको दाबीमा कति सत्यता थियो थाहा भएन । तर बैठकमा उपस्थित धेरैले उक्त कुरा पत्याउन सकिरहेको थिएन । किनकि असार आउन ४ महिना मात्र बाँकी रहँदा मिश्रले सोही बैठकमा मुख्य तथा वितरण रिजर्भ्वायर गरी १४ वटा ट्याङ्की मध्ये १० वटा ट्याङ्की निर्माण सम्पन्न भइसकेको,साढे १३ किलोमिटर मुख्य पाइपलाइन मध्ये साढे १ किलोमिटर र ७६.०९ किलोमिटर शाखा पाइपलाइन मध्ये २० किलोमिटर मात्र बिछ्याइसकेको प्रतिवेदन पेश गर्नुभएको थियो ।

खानेपानी आयोजना निर्माणको काम भर्खरै सुरुवात भएको थियो भने उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीलाई टिमभित्रैबाट असहयोग गर्नेहरु पनि थिए । खानेपानी आयोजना निर्माणमा हुनसक्ने समस्यालाई मध्यनजर गर्दै सोही बैठकले आयोजना निर्माणमा सहजीकरण गर्न वडा अध्यक्षको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको थियो ।

 

 

९ महिना अघि यस्तो अवस्थाबाट गुज्रिरहेको जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाको केही दिन अघि अनुगमन गर्ने अवसर मिल्यो । ९ महिनापछि पुग्दा खानेपानी लिफ्टिङ गर्ने मुख्य स्थानमा पुग्ने पहुँच मार्ग मात्र बनेको थिएन कि त्यहाँ पानी संकलन गर्ने मुख्य ट्याङ्की निर्माण सम्पन्न भईसकेको थियो भने पानी प्रशोधनशाला, पम्प हाउस धमाधम निर्माण भईरहेको थियो ।
कोही बालुवा चाल्दै थिए, कोही मसला तयार गर्दै थिए । कसैको भागमा सिमेन्ट, बालुवा र गिट्टीको मात्रा मिलाउने जिम्मा थियो । कसैले बालुवा गिट्टी ओसारिरहेका थिए । कोही भने घोलेर तयार भएको मसला फिजाउँदै ढलान गरिरहेका थिए ।

 

सिन्धुपाल्चोकका संघीय सांसद शेरबहादुर तामाङ, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख नन्द बन्जाडे, नेकपा जिल्ला कमिटी सिन्धुपाल्चोकका सदस्य एवं पूर्वमन्त्री शेर बहादुर तामाङका स्वकीय अधिकृत निर्मल बञ्जारा, जिल्ला कमिटी सदस्य एवं युवा नेत्री सीता थापा, १० नं. वडाका अध्यक्ष बेल बहादुर महत, वडा नं. १२ का अध्यक्ष ध्रुवराज गिरीका सामु खानेपानी आयोजना निर्माणमा उल्लेख्य प्रगति प्रत्यक्ष देखाउन पाउँदा निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर सचिनकुमार मिश्र पनि हर्षित देखिनुहुन्थ्यो । मिश्र भन्दै हुनुहुन्थ्यो ‘हामी सम्झौता अवधि सकिनु अघि नै खानेपानी वितरण गर्न सक्ने अवस्थामा पुगिसकेका छौं, आगामी फागुन मसान्त भित्रमा सबै काम सम्पन्न गरी हामी चैत्रसम्ममा यहाँका सबै उपभोक्तालाई खानेपानी वितरण गर्नेछौं ।’

उहाँका अनुसार ५ वटा मुख्य ट्याङ्की मध्ये पाँच वटै सम्पन्न भईसकेका छन् । यस्तै ९ वटा वितरण ट्याङ्की पनि निर्माण सम्पन्न भईसकेको छ भने ७६ किलोमिटर वितरण पाईपलाइन र १३ किलोमिटर मुख्य पाईपलाइन मध्ये ७ किलोमिटर मात्र विछ्याउन बाँकी छ । ती मध्ये वितरण पाईप ५ किलोमिटर र मुख्य पाइप २ किलोमिटर विछ्याउन बाँकी छ ।

 

‘यत्ति काम हुँदा हाम्रो भौतिक प्रगति ८५ प्रतिशत र वित्तिय प्रगति ७३ प्रतिशत सम्पन्न भएको छ, उपभोक्तालाई समयमै पानी वितरण गर्न दैनिक ९४ जना मिस्त्री र १० जना कर्मचारी मार्फत काम भईरहेको छ’ उहाँले भन्नुभयो । इस्टिमेटमा प्रस्तावित मुहान क्षेत्रमा विवाद उत्पन्न भएपछि करिब १ किलोमिटर माथिबाट पानी ल्याउनुपरेको हो । पानी तान्ने मुख्य ठाउँ सम्मको सडक मार्ग बनाउनु परेकाले केही ढिलाई भएको उहाँको तर्क थियो ।

मिश्रले प्रस्तुत गरे अनुसारको संरचना स्थलगत अनुगमनका क्रममा समेत दुरुस्तै पाएपछि अनुगमनका लागि पुगेका संघीय सांसद शेर बहादुर तामाङ र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख नन्द बन्जाडे पनि हर्षित हुनुभयो ।

दिनभरि खानेपानीको हरेक संरचनाहरुको अनुगमन गरेपछि साँझ छुट्टिने बेला आयोजना प्रमुख नन्दलाल बन्जाडे भन्दै हुनुहुन्थ्यो ‘म रिटायर्ड भए पनि खानेपानीको उदघाटन गर्ने बेला चाहिं बोलाउनुहोस् है !’
‘अबुई हजुरलाई नबोलाईकन गरिएको उदघाटन त अधुरै हुन्छ नि ? के भन्नुभएको ? जसले धेरै योगदान गर्नु भएको छ उहाँलाई नबोलाउला र ?’ खानेपानी उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीले बाचा गर्नुभयो ।

 

९ महिना अघिसम्म मात्रै अन्यौलपूर्ण अवस्थाबाट गुज्रिरहेको खानेपानी आयोजना सम्पन्न गरी उदघाटन गर्ने दिन अब त्यत्ति टाढा छैन । निर्धारित समय अगावै खानेपानी आयोजना निर्माण हुनुमा कम्पनीको सक्रियता र योजना प्रतिको लगाव त हो नै, आयोजना कार्यालय, उपभोक्ता समिति र सम्बन्धित जनप्रतिनिधीको नियमित अनुगमन, निर्देशन र परामर्शले पनि सम्भव भएको हो ।

निर्माण कम्पनीले बाचा गर्दै आएको समय भन्दा २ महिना ढिलै भएछ भने पनि निर्धारित समयभन्दा ३ महिना अगावै खानेपानी उपभोग गर्न पाईनेछ । नयाँ बर्ष २०७७ सालको उपहार नयाँ खानेपानी आयोजनाबाट २४ सैं घण्टा खानेपानी पाउनबाट चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. १० ११ र १२ का बासिन्दालाई कसैले रोक्न सक्ने छैनन् ।

 

फोटो/प्रस्तुति : पी.टी.लोप्चन


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार