काठमाडौ : महिनावारी सम्बन्धीका बिषयवस्तु अव कक्षा ४ देखि नै अध्ययन गर्न पाईने भएको छ । महिनावारी सम्बन्धीका भ्रम र अन्धविश्वास हटाउन महिनावारीको बिषयलाई कक्षा चार देखि नै समावेश गर्दै लैजान लागेको हो ।
राष्ट्रिय महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालको बैठकमा पाठ्यक्रम विकास केन्द्रकी सुमन सिलवालले राष्ट्रिय पाठ्यक्रम प्रारुपले दिएको खाका भित्र रहेर पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम निर्माणको काम गरिरहेको जानकारी गराउनुभयो ।
हेर्नुहोस् यो भिडियो :
उहाँले मौजुदा पाठ्यक्रममा महिनावारी सम्बन्धीका बिषयबस्तु जत्ति हुनुपर्ने त्यो नभएको र अबको पाठ्यक्रममा समयको आवश्यकता बमोजिम धेरै भन्दा धेरै बिषयबस्तु समेट्ने कोसिस भईरहेको बताउनुभयो ।
हरेक १०/१० बर्षमा पाठ्यक्रम पुनरावलोकन हुने गरेको छ । अहिले कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम पुनरावलोकन भईसकेको छ । पाठ्यक्रम विकास केन्द्रले अब कक्षा ४ देखि ८ सम्मको पाठ्यक्रम पुनरावलोकन गर्दैछ ।
कक्षा ९ र १० मा ऐच्छिक बिषयमा समावेश गरिएको हुनाले सबै विद्यार्थीले अध्ययन गर्न नपाईने भएपनि सामाजिक विषय र जीवन उपयोगी सीपका रुपमा समेट्ने कोसिस भईरहेको उहाँले जानकारी गराउनुभयो । पाठ्यक्रममा समावेश भएका बिषयबस्तुलाई पाठ्यपुस्तकले केही अंश मात्र समेट्ने भएकाले तालिम, गोष्ठी, सभा, सेमिनार, नाटक जस्ता अनौपचारिक क्षेत्रबाट ज्ञान हासिल गराईने सिलवालले बताउनुभयो ।
बैठकमा शिक्षा मन्त्रालय, अनुगमन तथा मुल्याङ्कन शाखाकी उपसचिव दिव्या दवाडीले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन बनेको कार्यविधिमा भएको व्यवस्थाका बिषयमा जानकारी गराउनुभएको थियो ।
राष्ट्रिय महिनावारी व्यवस्थापन सञ्जालमा महिनावारी स्वच्छताको विभिन्न क्षेत्रमा क्रियाशील ६० भन्दा बढी संघसंस्था सदस्य छन् ।


1196 पटक हेरिएको 

