२२ बर्ष थला परेको झुम्साखोला खानेपानी आयोजनाले पूर्णता पाउने, करिब साढे ६ अर्ब लाग्ने

 182 पटक हेरिएको

बुटवल  : २२ बर्षसम्म सम्पन्न हुन नसकेको झुम्सा खानेपानी तथा सरसफाइ आयोजनाले पूर्णता पाउने भएको छ । नेपाल खानेपानी संस्थानले बुटवल उप–महानगरपालिकाका सबै वडाहरुमा प्रशोधित खानेपानी आपूर्ति गर्न झुम्सा खोलाको पानी ल्याउन लागेको हो ।

बुटवलको खानेपानी समस्या समाधान गर्न २२ वर्षअघि झुम्साखोला खानेपानी आयोजना सुरु गरिएको थियो । २२ वर्षअघि तत्कालीन मेयर सूर्यप्रसाद प्रधानको पालामा आयोजना निर्माणको काम सुरु भएको थियो ।

झुम्सा खोलाको फिरफिरे घाटमा इन्टेक निर्माणको काम सकिएर केही किलोमिटर पाइप बिछ्याइसकेपछि बाढीले इन्टेक नै बगाएपछि आयोजनाको काम रोकिएको थियो । पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गतको झुम्सा खोला बुटवलबाट करिब १४ किलोमिटर टाढा पर्छ ।

सुरुमा १९ करोड ५६ लाख रुपैयाँ लागत अनुमान गरी २०६८ सालको असारभित्र सक्ने लक्ष्य लिएको थियो । समय, डिजाइन र जनसंख्या बृद्धिका कारण यो आयोजनाको लागत ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ पुगेको छ । नेपाल खानेपानी संस्थानले बुटवल उप–महानगरपालिकाका सबै वडाहरुमा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम अघि बढाएको हो ।

संस्थानले बुटवल शहरका लागि खानेपानी पु(याउने उद्देश्यले आयोजनाको ठेक्का आह्वान गरेको छ । पहिलो प्याकेज अन्तर्गत १० र २० इन्चको डीआइ पाइप खरिद कार्य भइसकेको छ भने दोस्रो प्याकेज अन्तर्गत खोलाको बाँध निर्माण र पाइप जडानको ठेक्का सम्झौता कार्य हुँदैछ ।

तेस्रो प्याकेजमा पाइप जडान गरी बिछ्याउने र ट्रस पुल बनाउने कार्यको ठेक्का आह्वान भएको छ । संस्थानले पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा अवस्थित झुम्सा खोलामा बाँध तथा इन्टेक निर्माण गरी खोलाको पानीलाई प्रशोधन गरेर बुटवल उप–महानगरपालिकाका सबै वडाहरुमा खानेपानी सेवा विस्तार गर्न लागेको हो ।
झुम्सा खोलाबाट प्रतिदिन ३ करोड १० लाख लिटर पानी ल्याएर बुटवलमा प्रशोधन गर्ने र त्यहीँबाटै वितरण गर्ने योजना रहेको संस्थानको बुटवल खानेपानी आयोजना प्रमुख बुद्धरत्न महर्जनले बताउनुभयो ।

बुटवल खानेपानी शुद्धीकरण आयोजनाको नामबाट दुईवटा मुख्य कामहरु अघि बढाइएको छ । पहिलो काम अन्तर्गत झुम्सा खोलामा बाँध निर्माण गर्ने, ट्रस पुल बनाउने र पाइप बिछ्याएर पानी ल्याउने त्यस्तै दोस्रो आयोजनाको काम अन्तर्गत बुटवल उप महानगरपालिका वडा नं. ३ स्थित रामफेदीमा पानी प्रशोधन प्लान्ट बनाउने, रिजर्भ्वायर पानी ट्यांकी बनाउने र पानी वितरणका कामहरु गर्ने रहेको छ ।

 

बुटवल शहरमा करिब ६ सय १२ किलोमिटर डीआइ पाइप तथा एचडीपीइ पाइप विस्तार गर्ने र नौ वटा ओभरहेड ट्यांकी निर्माण गर्ने योजना रहेको आयोजना प्रमुख महर्जनले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार