पूर्वमन्त्री तामाङको पहलमा जुगल-थालखर्क खानेपानीका लागि १ करोड स्वीकृत

 1400 पटक हेरिएको

 

काठमाडौ : पूर्वमन्त्री एवं संघीय सांसद शेर बहादुर तामाङको पहलमा सिन्धुपाल्चोकको जुगल – थालखर्क – होल्चे खानेपानी तथा सरसफाइ आयोजनाका लागि १ करोड रुपैयाँ बजेट स्वीकृत गरिएको छ । पूर्वमन्त्री तामाङको पहलमा खानेपानी मन्त्रालय मार्फत अर्थ मन्त्रालयले भूकम्पबाट क्षति भएका खानेपानी आयोजना सुधारका लागि १ करोड रुपैयाँ रकम निकासा गर्ने निर्णय गरेको हो ।

भूकम्पबाट क्षति भएको खानेपानी तथा सरसफाइ आयोजनाको पुनः निर्माणका लागि अर्थमन्त्रालयले रकम निकासा गर्ने निर्णय गरेको खानेपानी तथा ढल व्यवस्थापन विभाग, योजना अनुगमन तथा मूल्याङकन शाखाका प्रमुख सिनियर डिभिज्नल इन्जिनियर लक्ष्मी प्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार विनियोजित बजेटबाट चित्रे, ओख्रेनी, स्याउले, होल्चे लगायत क्षेत्रको खानेपानी वितरण प्रणालीको सुधार गरिनेछ । ‘भूकम्बाट क्षति भएको मुख्य पाइप लाइनको मर्मत सुधार गर्नुपर्नेछ, यस्तै पानीको मुहानदेखि चौतारासम्मको पाइपलाइनमा पर्ने गाउँहरुमा समेत व्यवस्थित तरिकाले पानी वितरण गर्नुपर्नेछ, रिजर्भ्वायर टैंकहरुमा क्षति पुग्दा पानी वितरण गर्न सकिएको छैन । विनियोजित बजेटबाट मुख्य रुपमा यिनै कामहरु हुनेछन्’ शाखा प्रमुख उपाध्यायले वास खबरसँग भन्नुभयो । खानेपानीको वितरण प्रणालीको सुधार आयोजना खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाले कार्यान्वयन गर्नेछ ।

गएको पुस ७ गते पूर्वमन्त्री तामाङ, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाका तत्कालीन आयोजना प्रमुख नन्द बन्जाडे, नेकपा जिल्ला कमिटी सिन्धुपाल्चोकका सदस्य एवं पूर्वमन्त्रीका स्वकीय अधिकृत निर्मल बञ्जारा, जिल्ला कमिटी सदस्य सीता थापा, चौतारा सांँगाचोकगढी नगरपालिकाको १० नं. वडाका अध्यक्ष बेल बहादुर महत लगायतले आयोजनाको अनुगमन गर्नुभएको थियो ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त खानेपानी आयोजनाको यस अघि जाइकाले आंशिक मर्मत सुधार गरी सञ्चालनमा ल्याईएको छ । जाईकाले आफूहरुसँग राम्रोसँग परामर्श नै नगरी मुख्य लाइनको मात्र मर्मत सुधार गरेको जुगल – थालखर्क – होल्चे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव श्यामकृष्ण श्रेष्ठले बताउनुभयो । सचिव श्रेष्ठले करिब १० बर्षदेखि नयाँ धारा वितरण गर्न नपाएको र खानेपानीको पूर्ण रुपमा मर्मत सम्भार गरी स्याउले क्षेत्रमा नयाँ धारा वितरण गरिने बताउनुभयो ।

अझै नबन्ने भो प्रशोधनशाला

 

विनियोजित बजेटबाट प्रशोधनशाला नबन्ने भएको छ । हाल विनियोजित १ करोड बजेट चित्रे, ओख्रेनी, स्याउले, होल्चे लगायत क्षेत्रको खानेपानी वितरण प्रणालीको सुधारका लागि मात्र पर्याप्त हुने खानेपानी तथा ढल व्यवस्थापन विभाग, योजना अनुगमन तथा मूल्याङकन शाखाका प्रमुख सिनियर डिभिज्नल इन्जिनियर लक्ष्मी प्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार खानेपानी तथा ढल व्यवस्थापन विभागकै गुणस्तर सुधार शाखाले प्रशोधनशाला मर्मतका लागि प्रक्रिया अगाडि बढाईएको छ ।

प्रशोधनशालाबाट पानी चुहिएर नअडिने भएपछि खानेपानी उपभोक्ता समितिले प्रशोधन बिनै खानेपानी वितरण गरिरहेको छ । जुगल – थालखर्क – होल्चे खानेपानी तथा सरसफाइ आयोजनाबाट सदरमुकाम चौतारा सहित करिब २५ हजार जनसंख्याले खानेपानी उपभोग गर्छन् । जुगल – थालखर्क – होल्चे खानेपानी तथा सरसफाइ आयोजना २०३३ सालतिरै देखि सञ्चालनमा आएको खानेपानी आयोजना हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार