काभ्रे : काभ्रेको बनेपा नगरपालिका क्षेत्रको पाँच वटा मुहानको पानीलाई एकीकृत गरी लिफ्टिङ प्रणाली मार्फत खानेपानी वितरण गर्न डिपीआर निर्माणको काम सुरु भएको छ । सहलगानी खानेपानी आयोजनाको मोडलमा अनुसार खानेपानी आयोजना निर्माण गर्न बनेपा नगरपालिकाको वडा १४ मा रहेको आशापुरी महादेव मन्दिर हुँदै बग्ने खोलाको पानी, भोटे गैरा खोला, घ्याङ खोला, तेरापाती मूल र वासिङ्टा खोलाको पानीलाई च्यानडाँडामा लिफ्टिङ गरी वितरण गर्न डिपीआर निर्माणको काम सुरु गरिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाका निमित्त प्रमुख मोहनलाल जैसीले जानकारी दिनुभयो ।
सहलगानी खानेपानी आयोजना कार्यान्वयन निर्देशिका २०७२ अनुसार मानव विकास सूचकाङ्क कम भएका जिल्लाले बाहेक कुल लागतको कम्तिमा ३० प्रतिशत उपभोक्ता संस्थार ७० प्रतिशत केन्द्रीय सरकारले पूँजीगत लगानी गर्ने प्रावधान छ ।
छरिएर रहेका पानीको स्रोतलाई वडा नं १४ को सबैभन्दा उच्च ठाउँमा रहेको च्यानडाँडामा लिफ्ट गरेर जम्मा गर्ने र सबै खोलाको पानी एकीकृत गर्न सम्भव नभए डिप बोरिङ गरेर समेत सबै पानीको स्रोतलाई एकीकृत गरी वितरण गर्ने बनेपा नगरपालिकाकी उप प्रमुख रेखा सापकोटा दाहालले वताउनुभयो । खानेपानी आयोजनाको डिपीआर निर्माणका लागि यस अघि नै सबै मुहानको सम्भाव्यता अध्ययन भईसकेको र खानेपानी लिफ्ट गरिने स्थान, रिजर्भ्वायर टैंक, वितरण टैंक र पाइपलाईन खन्ने क्षेत्र लगायत मोटामोटी एकीन गरिसकेको छ ।
खानेपानीको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउँदा आगामी २० बर्षमा हुने जनसंख्यालाई आधार मानेर तयार पारिनेछ । ‘अहिले प्रस्तावित खोलाहरुबाट एकीकृत गरी च्यानडाँडामा जम्मा गर्ने र त्यहाँबाट वाई (Y) आकारमा एकातिर फूलचोकी डाँडा र अर्कोतर्फ सरस्वती टारमा वितरण रिजर्भ्वायर ट्याङ्की बनाएर वितरण गरिनेछ । यत्तिले मात्र नपुग्न सक्छ । हामीले यसक्षेत्रमा डिप बोरिङ गरेर पनि त्यो पानीलाई एकीकृत गरी वितरण गर्ने बारेमा पनि छलफल गरेका छौं’ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय हेटौडाका निमित्त प्रमुख मोहन लाल जैशीले बताउनुभयो ।
प्रस्तावित खानेपानी आयोजनाले बनेपा नगरपालिकाको वडा नं. १४, वडा नं. १३ र १० का गरी करिब ४ हजार घरपरिवारलाई खानेपानी उपलब्ध गराउनुपर्नेछ । हाल साँगा भन्ज्याङमा डिप बोरिङ गरी वडा नं. १३ र १४ का केही बासिन्दाले बाहेक अन्यले वरिपरिका मूल, कुवा तथा खोलाको पानी नै उपभोग गर्दै आएको बनेपा नगरपालिका १० नंं वडाका अध्यक्ष गौरी राउतले बताउनुभयो ।
खानेपानी वितरण गर्नुपर्ने क्षेत्र
वडा नं. १४ का अध्यक्ष चन्द्र खड्काका अनुसार वडा नं. १० मा पानी वितरण गर्नुपर्ने टोलहरु
बाहुनडाँडा, गैराटोल, मिजारटोल, विस्टागाउँ, खत्रीटोल र खड्कागाउँका करिब ९ सय घरपरिवार ।
वडा नं. १३ : साँगा बजार, नयाँ बस्ती, बाँझाबन, बुर्थोकी गाउँ, भैंसेपाटी, माथिल्लो गाउँ, भैंसेपाटी बजार, स्याल गैरा र राहुलडाँडाका गरी करिब १७ सय घरपरिवार ।
वडा नं. १४ : खाल्चोक, काफल डाँडा, सरस्वतीटार, ग्वासिन्चा, नासिका, डिपडोल, इटापू, टपलटोल, टौडोल र पूलाराका गरी करिब १४ सय घरपरिवार ।
डिपीआर निर्माणका लागि केही दिन अघि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय हेटौडाका निमित्त प्रमुख मोहन लाल जैशी, सहलगानी खानेपानी आयोजनाका इन्जिनियर ऋषि रिमाल, बनेपा नगरपालिकाकी उप प्रमुख रेखा सापकोटा दाहाल, बनेपा नगरपालिका वडा नं १० का अध्यक्ष चन्द्र बहादुर खड्का, वडा नं. १४ का अध्यक्ष गौरी राउत र डिपीआर निर्माणको जिम्मा पाएको स्याप वाटर लिमिटेडका राजन पाण्डेले स्थलगत अध्ययन गर्नुभएको थियो ।
फोटो :मोहन लाल जैशीको फेसबुकबाट ।