गाउँले र नगरपालिकाको सह लगानीमा खानेपानी आयोजना

गोरखा : गोरखाको पालुङटार नगरपालिका–४ मा गाउँले र नगरपालिकाको सहलगानीमा खानेपानी आयोजना निर्माण भएको छ । नगरपालिकाको २७ लाख रुपैयाँ र उपभोक्ता समितिको १३ लाख रुपैयाँ गरी ४० लाख रुपैयाँको लागतमा बोरागाउँ खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । खानेपानी आयोजनाको एक कार्यक्रमका बीच पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले उद्घाटन गर्नुभयो ।

खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि वडा नम्बर ३ को बोरागाउँ, पण्डितगाउँ र वडा नम्बर ४ अन्तर्गत सिमलखर्क, खरबारी, पौडेल गाउँ, थरिगाउँ टोलका ८९ घर लाभान्वित भएका छन् । ती सबै घरमा मिटर सहितको धारा जडान गरिएको छ । उदघाटन कार्यक्रममा मेयर पन्तले स्थानीय बासिन्दाको आवश्यकता अनुसार आयोजना छनोट गरी कार्यान्वयन गर्दै जाने बताउनुभयो ।

नगरपालिकाकी उपमेयर पम्फा बसेलले आयोजनालाई दिगो बनाउन कोष स्थापना, मर्मत सम्भार लगायतका काम गर्न उपभोक्ता समितिलाई सुझाव दिनुभयो । आयोजना अन्तर्गत ३६ घनमिटरको ट्यांकीमा संकलन भएको पानी घरघरमा वितरण गरिएको नगरपालिकाका इन्जिनियर अनुप देवकोटाले बताउनुभयो। गाउँका सीमित धारामा नियमित पानी नआउँदा टाढा पानी लिन जानुपर्ने बाध्यता हटेको स्थानीय केदारनाथ देबकोटाले बताउनुभयो । ‘गाउँमा १० धारामात्र थिए, पहिले पानी भर्नेको लाइन हुन्थ्यो । पुग्नेगरी पानी पाइँदैनथ्यो । अब त घर घरमा धारा भयो । हामीलाई धेरै सजिलो हुने भयो’ देवकोटाले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार